काठमाडौं । पार्टी बिभाजनपछि आधिकारिकता दावी गर्दै निर्वाचन आयोगमा पुगेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद राष्ट्र बैंकसम्म पुगेको छ । पार्टीभित्र विवाद रहेको र सम्पत्तिमा कसको हक लाग्ने भन्ने यकिन नभएको भन्दै तत्काल खाताहरु रोक्का गर्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले हस्ताक्षर गरेर बैंकहरुलाई पत्राचार गरेसंगै विवाद बैंकसम्म पुगेको हो ।
नेकपाका (बहुमत पक्ष) अध्यक्षद्वय प्रचण्ड र नेपालको पत्राचारपछि बैंकहरुले निर्वाचन आयोगले निर्णय नगर्दासम्म खाता रोक्का गर्ने जनाएका छन् । विवाद समाधान नहुञ्जेलसम्म बैंक खाता रोक्का हुने भएको हो ।
बैंकहरुले यस्ता विवाद आउँदा विवाद समाधान नहुँदासम्म खाता रोक्का गर्ने गरेका छण । त्यसैले अबको कम्तिमा एक महिना नेकपाको सबै बैंक खाता रोक्का हुने देखिएको छ । राष्ट्र बैंकका एक अधिकारीले भने, ‘विवाद भएपछि खाता सञ्चालन हुन सक्दैन, अब निर्वाचन आयोग वा अदालतको निर्णय कुर्नैपर्ने हुन्छ ।’
पार्टी विभाजनको औपचारिक घोषणा नभएपनि नेकपा फुटिसकेको छ । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि प्रचण्ड-नेपाल पक्ष र ओली पक्षले एकैदिन आलग-अलग केन्द्रीय समितिको बैठक सम्पन्न गरिसकेका छन् । दुबैले एक-अर्कालाई कारवाहीको घोषणा समेत गरेका छन् । प्रचण्ड-नेपाल पक्षले बहुमत केन्द्रीय सदस्य आफूसंग रहेकाले आफ्नो पक्ष नै संस्थापन भएको बताइरहेका छन्। तर पार्टीको सम्पतिमा ओलीपक्षले एकलौटी गरेको भन्दै उनीहरुले पत्राचार नै गरेर खाता रोक्का गर्न बैंकहरुलाई अनुरोध गरेका हुन्।