वर्तमान महासंकट र यसका कारणहरु 

  • नारायण शर्मा 

महासंकटको अर्थ र पृष्ठभूमि 

पछिल्लो आम निर्वाचनपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली नेतृत्वको दुई तिहाईको बलियो र स्थायी सरकारबाट मुलुकको संक्रमण र संकटग्रस्त परिस्थितिको अन्त्य भएको विश्वास गरिएको थियो । यससंगै मुलुकमा स्थायित्व, सुव्यवस्था, सुशासन, समृद्दि र विकासको अपेक्षा पनि गरिएको थियो तर वली नेतृत्वको सरकारले आफ्नो दुईतिहाई नजिकको संसदलाई असमयमै हठात् र बलात् ढंगले भङ्ग गरेसँगै नेकपामा फुट आएको छ । तत्पश्चात् देशका प्रतिगमनकारी र यथास्थितिवादी शक्तिहरु मात्र होइन, वैदेसिक प्रतिकृयावादीहरु समेत आ-आफ्ना स्वार्थ पूरा गर्न-गराउनका लागि न्वारानदेखिको बल लगाएर चलखेल गरिरहेका छन् । यो अवस्था एक असाधारण, अति गम्भीर, परम अराजकतापूर्ण र चरम संवेदनशील अवस्था हो । विगत आठ दशकदेखि अग्रगमनका लागि बारम्बार भैरहेका विभिन्न संघर्ष, आन्दोलन, द्वन्द्व र युद्धबाट आक्रान्त अस्थीर, अशान्त, अन्यौलग्रस्त र क्षतविक्षत भै मुलुक संकटग्रस्त बनिरहेका बेला स्थिर र बलियो सरकार गठन भएसंगै निकास र विकास पाउला भन्ने धेरैको अपेक्षा थियो । तर, अहिले अप्रत्याशित घटना बेहोर्नु पर्दा मुलुक महासंकटमा फसेको अनुभव सबैले गरेका छन् । यो सामान्य घटना र अवस्था नभएर एक विशेष, विडम्बनापूर्ण र असामान्य अवस्था र गम्भीर दुर्घटनाको स्थिति हो । र यसबाट पार पाउन धेरैनै ठूलो सकसपूर्ण कठिनाइँबाट गुज्रनु पर्ने देखिएकोले नेपालको वर्तमान अवस्थालाई महासंकटपूर्ण अवस्था भनिएको हो ।

महासंकटका मुख्य कारणहरु 

१) अमेरिका, भारत र इयूलगायतका साम्राज्यवादी-विस्तारवादी राष्ट्रहरुको चीनसँगको प्रतिस्पर्धा र प्रतिद्वन्द्वीता, ईर्ष्या र डाह, विद्वैष र विरोध, अवरोध र आक्रामक नीति र गतिविधिका कारण नेपालमा यो संकट एक महासंकटका रुपमा प्रकट भैरहेछ ।

२) देशका राजनीतिक शक्तिहरुको सत्ता र भत्तास्वार्थका लागि सत्ताधारी नेकपाकै विभिन्न गुट-उपगुट र व्यक्तित्व-नेतृत्वको बिचमा केही समयदेखी भैरहेको आपसी झगडामा उपरोक्त साम्राज्यवादी-विस्तारवादी शक्तिकेन्द्रहरु खेल्दा यो महासंकट पैदा भएको स्पष्टै छ ।

३) यो संकट अघिपछिको जस्तो सामान्य संकट नभएर एक विशेष संकट भएकाले महासंकट भनिएको हो । यो यसकारण महासंकट हो कि यस्ले नेपाल अन्यौलता, अनिश्चितता, अस्थीरता र अराजकता अनि द्वैष, द्वन्द्व र दमन-प्रतिरोधको भीषण दुश्चक्रमा फस्न गैरहेको छ । साथै, यो सामान्य र चानचुने तरिकाले अनि छिटै र सहजै हल हुने पनि देखिंदैन ।

४) यो संकट यसकारणले पनि महासंकट भैरहेको छ कि यसमा देशका प्रतिकृयावादी शक्तिहरुको मात्र होइन, अन्तर्राष्ट्रिय महाशक्तिहरुको समेत चासो, चिन्ता र चलखेल मात्र नभै द्वैष, द्वन्द्व र दानवी प्रवृत्तिद्वारा हाम्रो देश, जनता र अग्रगमनलाई दमन र समन गर्ने रणनीती अन्तर्निहित छ ।

५) यो महासंकट निर्वाचित संसद विघटन र सत्ताधारी दुईतिहाई बहुमतको सत्तासीन पार्टीमा आएको ठूलो विभाजनका कारणले मात्र नभई यसकारणले पनि आएको हो कि यसको अन्तर्यमा राजतन्त्र, हिन्दूराष्ट्र, एकीकृत र केन्द्रीकृत शासनप्रणालीको पुनर्स्थापना गरी देशलाई पूरै प्रतिगमनमा लैजाने देसी-विदेसी प्रतिकृयावादी शक्तिहरुको गम्भीर षड्यन्त्र लुकेको छ ।

६) वर्तमान संकट महासंकट हुनु र भनिनुमा सबैभन्दा महत्वपूर्ण कारण देशमा द्वन्द्वको पुनरावृत्ती गराई कथित द्वन्द्व समाधानका नाममा वैदेसिक सेना भित्र्याई नेपाल र नेपालीलाई लुट्ने र मेट्ने अनि नेपाल र नेपालीको सच्चा सहयोगी छिमेकी मित्रराष्ट्र चीनलाई भुट्ने (disturb, dominate, divide n destroy = 4d) रणनीति लुकेको छ ।

७) यसै रणनीतिको एउटा अङ्गको रुपमा यहाँ एमसीसी सम्झौता गरिसकिएको छ र त्यसलाई संसदबाट पारित गरी स्थायीरुपमा सबल र सुदृढ गरिंदैछ । हालै मात्र पूर्व माओवादी तर्फका नयाँ उर्जामन्त्री टोपबहादुर रायमाझीले समेत मन्त्रालय प्रवेश गर्दाकै अवसरमा एमसीसी आवश्यक छ र संसदबाट पारित गर्नुपर्छ भनी पहिलो सम्बोधनमै भनेको कुराबाट पनि उपरोक्त कुरा पुष्टि हुन्छ ।

८) वर्तमानको यो संकट उत्पन्न हुनुको प्रमुख कारण त यहाँका नेता-शासकहरु, राजनीतिक पार्टीहरु र संसदीय व्यवस्था स्वयं हुन् । नेता-शासकहरुका दलाल र दास चिन्तन र चरित्र तथा संसदवादी राजनीतिक पार्टीहरुका यथास्थितिवादी र नवउदारवादी मति र गति एवं नीती र कृति अनि संसदीय सरकार, शासनप्रणाली र सत्ताको जनविरोधी, क्रान्तिविरोधी र प्रगतिविरोधी सारतत्व नै वर्तमान महासंकटका समेत मुख्य कारक हुन् ।

९) एउटा विचित्रको दु:खद विडम्बना के भैरहेछ भने नेपालमा कुनैपनि देशभक्त, लोकतान्त्रिक र अग्रगामी शक्ति, व्यक्ति वा संघसंस्थालाई सबल र सुदृढ हुन नदिनको लागि उक्त निकायमा वैदेसिक शक्तिहरुले वैचारिक विचलन, वैमनस्य र विद्वैष बढाइदिएर विभाजन ल्याइदिने गर्दछन् र गरेका छन् । अहिले पनि यो खेल मूलतः सत्ताधारी नेकपाभित्र खेलिएको छ र यसको एउटा गुट (ओलीगुट)लाई संसद विघटन गर्न लगाई चुनाव जिताउन सहयोग गर्ने आश्वासन दिने तथा अर्को पक्ष (प्रचण्ड-माधवगुट) लाई भने संसद पुनर्स्थापनाको लागि संघर्ष गर्न र नेका-मधेसवादीसँग संयुक्त सरकार बनाई नेतृत्व गर्न सुर्‍याउने एउटै शक्ति केन्द्रबाटै भैरहेको छ । त्यसमाथि पनि उही एउटै वैदेशिक शक्ति केन्द्रले एकातिर राजावादीहरुलाई राष्ट्रिय एकता, राजतन्त्र, हिन्दुराष्ट्र अनि एकीकृत र केन्द्रीकृत शासनव्यवस्थाको लागि उकासेर आन्दोलन गर्न लगाउने र अर्कातिर नेका-मधेसवादीलाई लोकतन्त्रको रक्षा र विकासको लागि लड्न प्रेरित, प्रोत्साहित र प्रलोभित गर्दै मुलुकमा अन्यौलता, अराजकता, अस्तव्यस्तता, अस्थिरता र अतिवाद बढाएर अर्थात् नेपाललाई पुनः भीषण द्वन्द्वमा फसाई कमजोर, कङ्गाल र कारुणिक अवस्थामा पुराएर नेपालबाट आफ्नो कुत्सित स्वार्थ पूर्ती गर्ने निहित उद्देश्यले चलखेल, सरसहयोग र हस्तक्षेप गरिरहेको छ ।

यो हस्तक्षेपको प्रकृया नेपालमा शान्ति र स्थायित्वका नाममा विदेसी सेना उतारेर थप द्वन्द्व र अशान्ति मच्चाउँदै नेपाल र नेपालीप्रति जिम्मेवार देखिएका वैचारिक-राजनीतिक पार्टीहरु, सामाजिक-सांस्कृतिक संघसंस्थाहरु र आर्थिक-व्यापारिक प्रतिष्ठानहरुलाई मात्र होइन पूरै नेपाल र नेपालीलाई विभाजित गरेर नेपाल र नेपालीको नामनिशान नै नराख्नेतिर उद्धत छ । हामी भने विदेसीहरुको यो चाल, जाल र ढाल अर्थात् कुनियत, डिजाइन र षड्यन्त्र नबुझीकनै कुर्सी स्वार्थमा अल्झिदै विरबलको खिचडी पकाएर खाने वा मनको लड्डु घिउसित खाने कपोल कल्पनामा डुबेर आ-आफ्ना डम्फू ठोक्दै आफू नै क्षतविक्षत हुनेगरी आपसमै लड्दै छौँ । यसरी संकटको मार खेप्ने पक्ष नेपालका राजनीतिक शक्ति-व्यक्तिहरुबाट समस्याको समाधान र संकटको हल गर्न प्रयत्न हुनुको साटो उल्टो उनीहरुबाटै समस्यालाई उल्झाउने र संकटलाई बल्झाउने अनि देशलाई प्रतिगमनको बाटोमा लैजाने जस्ता घातक कार्यहरु भैरहेकोले वर्तमान संकटलाई एउटा असाधारण, गम्भीरतम र जटिलतम महासंकट भन्न खोजिएको हो र यो महासंकट पदावली प्रयोग गरिएको हो ।

निष्कर्ष  
जुन शक्तिले नेपालमा बारम्बार मित्रता र सहयोगको आवरणमा यसप्रकारका संकट-महासंकटहरु थोपरिरहेको छ, त्यो शक्तिले नेपालको राष्ट्रिय हित र सबलताको लागि देशभक्ति र राष्ट्रियताको लागि, आत्मनिर्भरता र विकासको लागि, स्थिरता र स्थायित्वको लागि अनि अग्रगमन र समृद्धिको लागि कहिले कुनै सहयोग गरेको छैन र गर्दैन पनि । तरपनि हामी भने व्यक्तिगत, गुटगत र पार्टीगतजस्ता सिमित, संकुचित र क्षुद्र स्वार्थको निम्ति उनकै आसपासमा परिक्रमा गरेर उनकै दलाल र दास बनी उनैबाट गाँसको आस गर्ने गरेका छौँ । यो हाम्रो आसेपासे र गासेदासे सोंच र शैली धेरैनै घातक छ । त्यसैले पनि वर्तमान संकटलाई एक असमाधेय र असाधारण प्रकारको जटिल र गम्भीर संकट अर्थात् महासंकट भनिएको हो । जे होस् र जे भनियोस् जुनसुकै र जस्तो सुकै समस्या-महासमस्या र संकट-महासंकटको पनि समाधान हुन्छ । समस्यासंगै समाधान जन्मिने कुरा सार्वभौम सत्य नै हो । यत्ती हो कि कुनै संकटको समाधान छिटै र सजिलै पत्ता लाग्ने र हल पनि हुने गर्छ भने कुनै अलि जटिल र गम्भीर संकटको समाधान खोज्न केही बढी समय, श्रम, शक्ति र बुद्धि खर्चनुपर्ने हुन्छ ।

नेपालको वर्तमान महासंकटको हल पनि यहीं छ, हामीभित्रै छ र हामीलेनै यो खोज्न र हल गर्नको लागि आँट र साहस गर्नुपर्छ । यसो गर्न हामी सचेत र संघर्षशील नेपाली नागरिकहरु नै सक्छौं र सक्नु नै पर्दछ अन्यथा हामी नेपाली नागरिक हुनुको नै अर्थ र औचित्य समाप्त हुने प्रबल खतरा छ । त्यसैले बेलैमा सचेत र संगठित होऔं र संयुक्त र सशक्त संघर्षद्वारा सबैखाले षड्यन्त्र र हस्तक्षेपको विरोध, अवरोध र प्रतिरोध गरौं । यस्ता संकटहरु र यो महासंकटको पनि स्थायीरुपमै समाधान खोजौं ।

(लेखक पाका र पुराना वामपन्थी नेता हुन् । नेकपाका केन्द्रीय सदस्यसमेत रहेका उनी विभाजन पछि तटस्थ रहेका छन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *