काठमाडौँ। संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक’ कदमको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल, रसुवाले सोमबार कालिकास्थानमा मशाल जुलुस निकालेको छ ।
जननिर्वाचित संस्था बिघटन गर्ने प्रधानमन्त्रीको अलोकतान्त्रिक र असंवैधानिक कदमविरुद्ध पुत्ला दहनसहित मशाल जुलुस निकालिएको युवा संघ रसुवाले जनाएको छ । घुम्ति बजारबाट निकालिएको मशाल जुलुस सहिदद्वारमा पुगेर सम्पन्न भएको नेकपा रसुवा जिल्ला कमिटी सदस्य सुजन न्यौपानेले जानकारी दिए ।
ठूलो संख्यामा भेला भएका युवाहरुले प्रधानमन्त्री ओली र राष्ट्रपति बिद्या भण्डारीको पुत्लासमेत जलाएको थियो ।
संसद विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई प्रतिगामी, अलोकतान्त्रिक, निरंकुश र स्वेच्छाचारी भन्दै चौतर्फी विरोध भैरहेको छ । नेकपाको ओलीइतर समूह, प्रमुख प्रतिपक्षी कांग्रेसलगायतका दलहरुले देशव्यापी आन्दोलनको घोषणा गरिसकेका छन् ।