नेकपा ‘जोड्न’ चिनियाँ कसरत

काठमाडौं। फुटिसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई पुनः जोडाउन चिनियाँ कम्युनिस्ट पार्टी अन्तिम प्रयासमा जुटेको छ । पटक–पटक फुटको संघारबाट जोगिएको नेकपा यतिबेला भने दुई चिरामा विभाजित छ । साबिक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले एक–अर्कालाई कारबाही गरी पार्टीको आधिकारिकता आफूले पाउनुपर्ने भन्दै निर्वाचन आयोगमा आवेदन गरेका छन् । दाहालले आफ्नो खेमामा ओलीको साटो माधवकुमार नेपाललाई अध्यक्ष बनाइसकेका छन् ।

दुवै पक्षलाई पुनः एकसाथ ल्याएर सिंगो नेकपा बनाउन चीनले उच्चस्तरीय टोली आइतबार नेपाल पठाएको छ । राष्ट्रपति सी चिनफिङले विशेष सन्देशसहित चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली काठमाडौं पठाएका हुन् । उक्त टोलीले आइतबारै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको छ ।

नेकपाको आन्तरिक कलह मत्थर पार्न यसअघि चिनियाँ कम्युनिस्ट पार्टीले खेलेको भूमिका निरर्थकसरह भएको थियो । चिनियाँ राजदूत होउ यान्छी केही समयदेखि नेकपाभित्रको विवाद मत्थर गर्न सक्रिय थिइन् । तैपनि, नेकपा चिरिएको थियो ।

चीन कुनै हिसाबले पनि नेकपा नफुटोस् भन्ने चाहन्छ । सोहीबमोजिम उसले अन्तिम कसरत गरिरहेको छ । उपमन्त्री येचौको टोलीमा सन हेयान, लियाङ विआन र झेङ युआ आएका छन् । राजदूत होउले उपमन्त्री येचौ र नेताहरूको भेटघाटको समन्वय गरेकी छन् । तर, यसबारे चिनियाँ दूतावासले औपचारिक जानकारी दिएको छैन । दुतावासले नेताहरूको भ्रमणबारे कुनै प्रतिक्रिया दिन मानेन ।

उपमन्त्री येचौ नेतृत्वको टोली आइतबार अपराह्न चाइना एयरको ४३७ उडानबाट काठमाडौं आएको हो । चिनियाँ राजदूत होउले चिनियाँ प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी थिइन् । विमानस्थलबाट उक्त टोली सीधै बालुवाटारस्थित चिनियाँ दूतावास गएको थियो ।

उपमन्त्री येचौको टोलीले नेकपाका दुई खेमामा विभाजित नेतासँग एकताका लागि ‘दबाब दिने’ स्रोतले बताएको छ । टोलीले नेकपा नेता दाहालसहित उक्त खेमाका नेपाल, कृष्णबहादुर महरालगायतसँग पनि भेट्ने कार्यक्रम छ ।

सिंगो नेकपा हुँदाका विदेश विभाग उपप्रमुख राम कार्कीले पार्टीभित्र देखिएको पछिल्लो अवस्थाप्रति चिनियाँ कम्युनिस्ट पार्टी जानकार रहेको र सोही विषयमा छलफल गर्न टोली नेपाल आएको बताए । कार्कीले दक्षिण एसियाली मुलुकका कम्युनिस्ट नेताबीच निरन्तर छलफल र बैठक हुने गरेको पनि बताए ।

‘नेकपाभित्रको विवादबारे हामी चिनियाँ प्रतिनिधिमण्डललाई आफ्ना कुरा राख्छौं’, उनले भने, ‘हाम्रो आन्तरिक विवादबारे उनीहरूलाई पहिल्यैबाट जानकारी गराउँदै आएका पनि छौँ । उनीहरूसँगको बैठकमा नेकपाभित्रको पछिल्लो अवस्थाबारे गम्भीर छलफल गर्छौं ।’

चार दिन काठमाडौंमा रहने चिनियाँ टोलीले नेकपाभित्रको विवाद मत्थर गरी एक गराउने प्रयासमा रहेको स्रोतले बताएको छ । नेकपा जुटेको र फुटेको हेर्न नचाहने शक्तिराष्ट्रहरूले नेपालभित्र र बाहिर गर्ने गतिविधिले भने मुलुकको सार्वभौमिकता र आन्तरिक सुरक्षामा गम्भीर असर पार्न सक्ने विश्लेषकहरूले जनाएका छन्। यो समाचार आजको अन्नपूर्णमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *