ओलीको निरंकुश शैलीले मुलुक अप्ठेरोमा पुग्यो : नेता रावल

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका (नेकपा)का स्थायी समिति सदस्य भीम रावलले ओली नेतृत्वको सरकार काम चलाउ भैसकेकाले मन्त्री थप्न र कुनै निर्णय गर्न नपाउने बताएका छन् । आइतबार धनगढीमा आयोजित कार्यकर्ता भेलामा बोल्दै उनले ओलीका निरङ्कुश र स्वेच्छाचारी ढंगका काम कार्वाही आफूहरुलाई सह्य नहुने चेतावनी पनि दिए ।

ओलीको निरंकुश र स्वेच्छाचारी शैलीका कारण मुलुकले कठिन परिस्थितिको सामना गर्नुपरेको भन्दै नेता रावलले ओलीले जनतालाई एक–एक जवाफ दिनुपर्ने बताए ।

नेता रावलले प्रचण्ड-नेपाल समूह नै नेकपाको संस्थापन पक्ष भएको पनि बताए । पार्टी केन्द्रीय कमिटीमा रहेका ४४१ जना सदस्यमध्ये ओलीको पक्षमा ११५ जना मात्रै रहेको भन्दै उनले बहुसंख्यक केन्द्रीय सदस्यहरु आफूहरुसँगै रहेकोले संस्थापन पक्ष आफूहरुकै धार रहेको दावी गरे ।

उनले देशलाई राजनीतिक स्थायित्वतर्फ लैजानका लागि सबैलाई एकताबद्ध भएर अगाडि बढ्न आह्वान पनि गरे । नेता रावलले देशको वर्तमान र भोलिको भविष्य सुरक्षित गर्न, स्वतन्त्र परराष्ट्र नीतिको सुरक्षा तथा नेपालको संविधानको रक्षार्थ एकताबद्ध भएर अघि बढ्न सबैलाई आग्रह गरे ।

“नेपाल कम्युनिष्ट पार्टीको इतिहासमा धेरै उकाली, ओरालीको सामना गरेका छौँ”,उनले भने, “हामीले अब आउने दिनमा कानूनी र राजनीतिक दृष्टिकोणबाट सशक्तरुपमा पार्टी र कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने काममा लाग्नुपर्नेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *