काठमाडौं । नेकपा विप्लव समूह र प्रहरीबीच गोली हानाहान भएको छ। संखुवासभाको चैनपुरमा विप्लव समूह र प्रहरीबीच दोहोरो गोली हानाहान भएको हो ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार चैनपुर–४ मैदानेमा विप्लव समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायरिङ गरेपछि प्रहरीले जवाफी फायरिङ गरेको हो ।
विशेष सुराकीका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली चैनपुर–४, मैदानेमा पुगेपछि समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर खोलेका थिए । त्यसपछि प्रहरीले जवाफी फायरिङ गरेको हो ।
प्रहरीका अनुसार विप्लव समूहका कार्यकर्ताले ५ राउण्ड गोली चलाएका थिए । प्रहरीले करिब २० राउण्ड फायर गरेको छ ।
०७६ असार १६ मा पनि संखुवासभाको सिलिङचोङ गाउँपालिका–१ मा प्रहरीको गस्ती टोलीलाई लक्षित गरेर विप्लव समूहले गोली हानेको थियो ।