संयुक्त आन्दोलनको प्रस्ताव गर्दै बाबुरामले भने, ‘अदालतको आश गरौँ भर नपरौं’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमका विरुद्ध संयुक्त आन्दोलनको प्रस्ताव गरेका छन् ।

संसद विघटन गर्ने केपी ओलीको कदमविरुद्द जसपाले आइतबार काठमाडौंमा गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रचण्ड–माधव समूह र नेपाली कांग्रेसलाई संयुक्त आन्दोलनको प्रस्ताव गरेका हुन् ।

उनले संसद विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन रहे पनि सरकारले असंवैधानिक कदम चालेकाले त्यसविरुद्ध सडक संघर्ष नै गर्नुपर्नेमा उनले जोड दिएका हुन् ।

न्यायालयबाट संसद विघटनको निर्णय बदर हुनेमा आशावादी भए पनि पुरै भर पर्न नसकिने भन्दै भट्टराईले सबै राजनीतिक दल आन्दोलनमा उत्रनुको विकल्प नभएकोमा जोड दिए । ‘अदालतबाट आशा त गरौं, तर भर गर्ने ठाउँ छैन । किनकी अदालत जहिले पनि सार तत्वमा जाँदैन । न्याय दिने भन्दा विधि प्रमाण पुर्याउनेतिर जान्छ’,उनले भने ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले संसद विघटनको कदमलाई प्रतिगमन भन्दै जनआन्दोलनविना यो सच्चिने अवस्था नरहेको बताए । सडक आन्दोलनमार्फत अहिलेको कदमलाई केही महिनामै उल्ट्याउन सकिने पनि उनले बताए । ‘कांग्रेस र अरु साथीहरुलाई आग्रह गर्न चाहन्छु, न्यायालयबाट आश गरौं, ढुक्क नबनौं’, डा. भट्टराईले भनेका छन् ।

उनले प्रधानमन्त्री ओलीले चुनाव गराउने भ्रममा नबस्नसमेत प्रमुख विपक्षी कांग्रेसलाई आग्रह गरेका छन् । उनले केपी ओलीले चुनाव गराउलान् र चुनावमा गएपछि कांग्रेस ठूलो पार्टी होला भनेर भ्रममा नपर्न सुझाव पनि दिए ।

उनले अघि भने, ‘चुनाव भ्रममात्र हो, आफ्नो निरंकुश शासन गर्ने ध्येयले चुनावको कुरा गरेका छन् । आफ्नो प्रभुत्व पुरै कायम गरेको विश्वास नभएसम्म चुनाव हुन्न ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *