संसद विघटन र पुनर्स्थापनाको सवाल : दुई भिन्न रुपका समान प्रवृत्तिबीचको संघर्ष

नारायण प्रसाद शर्मा

मुलुक यतिबेला संसद विघटन र पुनर्स्थापना अनि पार्टी विभाजन र पुनर्गठनका दुई भिन्न रुपका संघर्षमा गुज्रिरहेको छ। रुपमा भिन्न देखिएका यी दुई घटनाका कारण समान सार बोकेका दुई शक्ति र प्रवृत्तिबीच अत्यन्त तीखो र तीतो संघर्ष जारी छ । जसका कारण अहिले मुलुक संक्रमणमा मात्र छैन संकटको अवस्थामा छ । यो परिस्थिति अझ महासंकटमा फस्ने निश्चित जस्तै छ। मुलुक र जनताका लागि यो निकै नै गम्भीर, खतरनाक र भयावह प्रसवपीडाको काल जस्तै हो। जसरी प्रसवपीडाकालमा intensive care र cure मा पुगे बच्चा सकुशल जन्मिने र जोगिने सम्भावना हुन्छ, अन्यथा आमा र बच्चा दुवैको अकालमा ज्यान जानसक्छ।

अर्को शब्दमा भन्नुपर्दा यो अन्तरिमकाल हो। अन्तरिमकाल भनेको पुराना व्यक्ति, वृत्ति, विधि, विधान, व्यवस्था र वाटोबाट जनता वाक्क-दिक्क र हुक्क-निरन्न भएको र नयाँ व्यक्ति, वृत्ति, विधि, विधान,व्यवस्था र बाटोको विकल्प चाहेको तर पनि त्यो विकल्प मूर्तरुपमा सतहमा प्रकट नभएको अवस्था हो। यस्तो परिस्थितिमा अत्यन्तै सकस र सास्तिपूर्ण हुन्छ।

महिलाको प्रसवकालमा जन्म र मृत्यु जस्ता दुई विपरीत र ठुलठुला सम्भावित परिणामहरुको सम्भावना रहेजस्तै  संक्रमणकालमा पनि मुलुक अग्रगमनतर्फ जाने या पश्चगममा पुग्ने, क्रान्ति हुने वा प्रतिक्रान्ति हुने, न्याय हुने कि अन्याय हुने, शान्ति हुने कि युद्ध हुने जस्ता अनिश्चितताको भूमरीमा फसेको हुन्छ । हाल नेपालको अवस्था यही हो। र यो अवस्था निकै संवेदनशील र गम्भीर हो । नेपालको यो पछिल्लो संक्रमणकाल धेरै लामो, दुखदायी र संकटमय नै रहिआएको छ। यसका पछाडि जनताको अग्रगामी र क्रान्तिकारी चेतना तर नेताहरुको भने पश्चगामी र प्रतिक्रान्तिकारी चेतना हुनु, शोषित-शासितहरुका जुझारु र निर्णायक कामकार्वाहीहरु हुनु तर शासकहरुका संझौतावादी र आत्मसमर्पणवादी चिन्तन र चरित्र हुनु अनि यी दुईथरी शक्ति र प्रवृत्तिबिचको अन्तर्विरोध पनि गुणात्मक रुपले हल नहुनु जस्ता कारणहरु रहेका छन् ।

साथै नेता-शासकहरुका अन्यायपूर्ण, अविवेकपूर्ण, अत्याचारी, स्वार्थी, कृतघ्नी, विश्वासघाती, धोकापूर्ण, दलालीपूर्ण र गद्दारीपूर्ण चिन्तन, चरित्र र कृयाकलापहरु अनि शासित जनता-कार्यकर्ताहरु पनि केही हदसम्म भ्रमित र विचलित हुनु पनि एक अर्को कारण रहेको देखिन्छ । हाल यो संक्रमणकाल टुङ्गिनु पर्नेमा झन् झन् गम्भीर, भयावह र विकराल हुनुमा देश, जनता र क्रान्तिका नायक भनिएकाहरुका सिद्धान्तदेखि व्यवहारसम्म विचलित र विकृत अनि वैचारिक-राजनीतिकदेखि आर्थिक-साँस्कृतिक र नैतिक-दैहिकसम्मका विविध रुपका भ्रष्ट, दुष्ट र निकृष्ट कामकुराहरु नै मुख्य रुपमा जिम्मेवार छन्।

(लेखक पुराना तथा पाका वामपन्थी नेता हुन्। नेकपाका केन्द्रीय सदस्य रहेका उनी हाल तटस्थ रहेका छन्।) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *