काठमाडौँ। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली समूहमा लागेका गृहमन्त्री रामबहादुर थापा बादल झुक्किएर उता पुगेको टिप्पणी गरेका छन् ।
शुक्रबार राजधानीमा पार्टीको केन्द्रीय कमिटीको बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले थापा अन्तत: आफूतिरै आउने दाबी पनि गरे ।
एक पत्रकारले संसद बिघटनलाई बादलले त अग्रगामी र क्रान्तिकारी कदम भनेका छन् नि भनि गरेको प्रश्नको जवाफमा प्रचण्डले भने, यता आउनका लागि तयार पारेको भाषण उता गएर गर्नुभएछ, झुक्किएर पुग्नुभएको होला पछि यतै फर्किनुहुन्छ ।’
नेकपा विवादमा अन्तिमसम्म तटस्थ बसेका गृहमन्त्री थापा अन्तत: प्रधानमन्त्री ओलीको पक्षमा खुलेका थिए । बिहीबार बालुवाटारमा ओली पक्षको केन्द्रीय समिति बैठकमा थापाले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमको बचाउ गरेका थिए। उनले प्रधानमन्त्रीको कदमलाई अग्रगमन र क्रान्तिकारी भन्दै आफूले दरो ढंगले साथ् दिने बताएका थिए ।