काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गोमन साँप जस्तै भनेका छन्। प्रधानमन्त्री ओली इबी साँध्ने व्यक्ति भएको भन्दै उनले गोमन साँपसंग तुलना गरेका हुन् ।
शुक्रबार राजधानीमा पार्टीको केन्द्रीय कमिटीको बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले तत्कालीन एमालेको महाधिवेशनमा आफूले हराएपछि ओलीले बदला लिन खोजेको बताए । ‘उहाँ (ओली)मा प्रतिशोध, इगो र इख राख्ने र मौका मिल्दा गोमन साँपले जस्तै ढुकेर आक्रमण गर्ने प्रवृति छ’, उनले भने ।
गोमन सापलाई कसैले हिर्कायो र भाग्यो भने उसले हिर्काउने मान्छेको तस्वीर दिमागमा राख्ने र मौका पाउँदा ठुंङ्ग्ने गरेको खनालले सुनाए ।
उनले पार्टीको तेस्रो केन्द्रीय समिति बैठकले माधव नेपाललाई अध्यक्ष बनाएको र दुवै अध्यक्षको हैसियत बराबर भएको पनि बताए । यसअघि केपी ओलीले जवरजस्त आफूलाई एक नम्बर घोषणा गरेको भन्दै उनले आउने अब आगामी महाधिवेशनसम्म २ अध्यक्ष बराबर हैसियतमा रहने र महाधिवेसनपछि एउटै अध्यक्ष बन्ने जानकारी दिए ।
उनको वरियताका बारेमा पत्रकारले सोधेको प्रश्नमा खनालले भने, ‘अध्यक्षभन्दा माथि कोही नेता हुँदैन, जतिसुकै सिनियर नेता भएपनि अध्यक्षभन्दा माथि राख्न मिल्दैन ।’
उनले नेकपाको आधिकारिक आफूहरु भएको भन्दै उनले केपी शर्मा ओली समूहले बालुवाटारमा गरेको भेलालाई रुखको बोक्राको संज्ञा दिए ।