संसद विघटनको असर प्रदेशमा: मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता, तीन मन्त्रीले दिए राजीनामा

काठमाडौँ। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । सत्तारुढ नेकपाकै प्रचण्ड–माधव नेपाल पक्षका प्रदेश सभा सदस्यहरुले पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।

४५ जना प्रदेश सभासदस्यहरुले प्रदेश सभा सचिवालयमा शुक्रबार बिहान ११ः२५ मा हस्ताक्षरसहितको प्रस्ताव दर्ता गराएका हुन् । पौडेललाई हटाएर नयाँ मुख्यमन्त्रीमा अष्ठलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको छ ।

प्रस्तावको प्रस्तावकमा आजै राजीनामा दिएका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेल छन् । जमरकट्टेलसहित प्रदेश सरकारका अन्य तीन मन्त्रीले पनि राजीनमा दिएका छन् ।

राजीनामा दिनेमा आन्तरिक मामिला तथा कानुनमन्त्री जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल छन् ।

प्रदेशसभामा नेकपाका ८० सांसद छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका २२, विवेकशील साझा दलका ३, राप्रपाका २, नेमकिपा २ र स्वतन्त्र सांसद् १ सांसद छन् । नेकपाका ८० सांसदमध्ये ओली पक्षका ३४ जना सांसद छन् । दाहाल–नेपाल पक्षका ४६ जना छन् ।

कूल १ सय १० जना सदस्य रहेको वाग्मती प्रदेश सभामा सरकार गठन गर्न ५६ सांसद भए पुग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *