संसद विघटनविरुद्ध चार महिला संगठनद्वारा संयुक्त आन्दोलन घोषणा

काठमाडौँ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै चार राजनीतिक दलका महिला संगठनहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै अखिल नेपाल महिला संघ (अनेम), समाजवादी महिला संघ, अखिल नेपाल महिला संघ र साझा विवेकशील महिलाले बिरोधका संयुक्त कार्यक्रम घोषणा गरेका हुन् ।

प्रधानमन्त्रीको कदमले मुलुक संवैधानिक संकटमा परेको भन्दै उनीहरुले संयुक्त आन्दोलनका कार्यक्रम अघि सारेको उल्लेख गरेका छन् । घोषित कार्यक्रमहरुमा नेपाल बार एशोसियसनका पदाधिकारीहरुसंग अन्तरक्रिया र छलफल गर्ने, संविधानविद्दहरुसंग छलफल गर्ने, संघीय संसदका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाउने र देशव्यापी रुपमा जनप्रदर्शन गर्ने जनाइएको छ ।

‘भर्खरै मुलुकमा उत्पन्न संवैधानिक संकटका सन्दर्भमा हामी निम्न महिला संघहरुको गम्भीर ध्यानाकर्षण भएको र हामीले संयुक्त रुपमा छलफल गरि हाम्रो साझा धारणा प्रष्ट पारेका छौं’, पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा भनिएको छ ।

महिला संगठनहरुले प्रधानमन्त्री र राष्ट्रपतिको अलोकतान्त्रिक र असंवैधानिक कदमले मुलुक अनिश्चिततातर्फ धकेलिएको भन्दै यसलाई व्यक्तिवादी, अधिनायकवादी, निरङ्कुश, गैरजिम्मेवार र नालायकीपनको उदाहरण भनेको छ । देश कोरोना कहर र आर्थिक संकटकाबीच गुज्रिरहेकाले सरकारले गरेको चुनावी घोषणाले देशको आर्थिक अवस्था अझ धराशायी बन्ने उनीहरुको निष्कर्ष छ ।

संसद विघटनले जनमतको अपमान गर्नुका साथै नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिलाई कुठाराघात गरेको उनीहरुको ठहर छ । ‘प्रतिनिधि सभाको कथित बिघटनले स्थिर सरकारका लागि दिइएको नेपाली जनताको जनमतको घोर अपमान मात्र भएको छैन आम जनताको बलिदानीपूर्ण संघर्षद्वारा प्राप्त उपलब्धिलाई संस्थागत गर्नुको सट्टा प्रतिगामी शक्तिहरु सल्बलाउने ढोका खुलेको छ’, विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्रीले संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको भन्दै महिला संगठनहरुले यसलाई संविधान माथिको कू भनेको छ । संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरि जननिर्वाचित संस्था विघटन गर्नु असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी, र निरंकुश कार्य भएकाले संविधानको रक्षार्थ आमजनतालाई आन्दोलित हुन् उनीहरुले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *