ओलीलाई अर्को झड्का: सांसद तामाङ प्रचण्ड-नेपाल समूहमा फर्किए
केन्द्रीय सदस्य अस्वीकार गर्नेको संख्या दुई दर्जन

काठमाडौँ। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य शेरबहादुर तामाङ प्रचण्ड–नेपाल समूहतिर लागेका छन् । यसअघि ओली समूहको बैठकमा सहभागी भएका तामाङ प्रतिगामी कदमको समर्थन गर्न नसकिने भन्दै कित्ता परिवर्तन गरेका हुन् ।

प्रतिनिधि सभा सदस्य समेत् रहेका तामाङ यसअघि ओली समूहले रोखेको सांसद भेला तथा केन्द्रीय कमिटी बैठकमा सहभागी भएका थिए । तर संसद बिघटन गर्ने ओलीको कदम प्रतिगमनकारी भएकाले आफू त्यहाँ रहन नसक्ने उनले बताएका छन् ।

तामाङ आज बस्ने प्रचण्ड–माधव पक्षको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने भएका छन् । सिन्धुपाल्चोकबाट सांसदमा निर्वाचित भएका तामाङ पूर्वमन्त्री पनि हुन् ।

उनकी पत्नी उषाकला राईले पनि ओली पक्षले केन्द्रीय सदस्यमा गरेको मनोनयन अस्वीकार गरेकी छन् । उनले सामाजिक सञ्जालकार्फत जनता भन्दा ठूलो पद र पैसा नभएको भन्दै आफूले पद अस्वीकार गरेको बताएकी हुन् ।

‘प्रधानमन्त्री केपी कमरेडले मलाई पत्याएर केन्द्रीय कमिटी जस्तो उच्च ओहोदामा राख्नु भएकोमा हृदयबाट कृतज्ञ जाहेर गर्दछु,’ उनले भनेकी छन्, ‘तर मेरा ग्यानोभावले उक्त पदमा रहेर जिम्मेवारी सम्हाल्न म असमर्थ महसुस भएको छ, त्यसकारण विनम्रताका साथ उक्त केन्द्रीय कमिटी सदस्य म नरहेको सबैमा अनुरोध गर्दछु ।’

त्यस्तै, ओली समूहले केन्द्रीय सदस्यमा मनोनयन गरेकामध्ये हालसम्म दुई दर्जनको हाराहारीका नेताले सो पद अस्वीकार गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *