काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा विघटन हुनै नसक्ने दाबी गरेका छन् । सभामुख सापकोटाले सरकार गठन गर्ने विकल्प रहँदासम्म संसद विघटन नहुने दावी गरेका हुन् ।
संसद विघटनको ४ दिनपछि बुधबार विज्ञप्ति जारी गर्दै सभामुखले संविधानको धारा ७६ मा प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म संसद विघटन नहुने स्पष्ट व्यवस्था रहेको बताएका हुन् ।
पुस १७ गतेभित्र संघीय संसदको सातौं अधिवेशन सुरु गर्न गृहकार्य भइरहँदा अप्रत्यासित रुपमा प्रतिनिधि सभामाथि अवरोध सृजना गरिएकोमा सिंगो प्रतिनिधि सभा र आफूलाई मर्माहत बनाएको सभामुखद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘संविधानको धारा ७६ मा प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने स्पष्ट व्यवस्था गरिएको छ ।’ उनले भनेका छन् ‘यस सन्दर्भमा संविधानको फरक व्याख्या नहोस् र शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण कायम राख्न सकियोस् भन्ने मान्यतासहित संविधानमा यस्तो व्यवस्था गरिएको हो।’
सभामुख सापकोटाले विगतका विसंगतिपूर्ण अभ्यासलाई सच्याउँदै स्थिरता र यसमार्फत् समृद्धिको जनचाहनालाई सम्बोधन गर्न प्रतिनिधि सभाको पूर्ण कार्यकालको परिकल्पना गरिएको तथ्य स्मरण गराएका छन् । सात दशकयताका बिभिन्न आन्दोलनको जगमा संविधान सभामार्फत् जनताका प्रतिनिधिले बनाएको संविधानको पालना सिंगो मलकको प्रमख कार्यभार भएको उनको भनाई छ ।
संविधानको रक्षार्थ पुनः एकपटक राजनीतिक दलका बीचमा उच्चस्तरीय समझदारीको आवश्यकता अझ बढेर गएको सापकोटाको दाबी छ । उनले संवैधानिक सर्वोच्चताका लागि सबै पक्ष संवेदनशील र गम्भीर बन्नुपर्ने बेला आएको धारणा राखेका छन् ।
‘संविधानको रक्षार्थ पुनः एकपटक राजनीतिक दलका बीचमा उच्चस्तरीय समझदारीको आवश्यकता अझ बढेर गएको छ । साथै, संवैधानिक सर्वोच्चताका लागि माननीय सदस्यहरु, राजनैतिक दल, नागरिक समाज, कानुन व्यवसायी, बुद्धिजीवी, सञ्चारजगत् तथा सम्बद्ध सबै पक्ष संवेदनशील र गम्भीर बन्नुपर्ने बेला आएको छ ।’