२९० जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोग पुग्यो प्रचण्ड-नेपाल समूह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले बहुमत केन्द्रीय सदस्य सम्मिलित मंगलबारको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरू निर्वाचन आयोगलाई बुझाएको छ ।

सो समूहले २९० जना केन्द्रीय समिति सदस्यको हस्ताक्षरसहित बैठकले गरेका निर्णय आयोगमा दर्ता गरेको हो । बैठकले गरेको निर्णय दर्ता गर्न केन्द्रीय सदस्यहरु सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे, लिलामणि पोखरेल र मुक्तिनारायण प्रधान आयोग पुगेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट निस्कासन गरेकोलगायतका निर्णयहरु आयोगमा पेस गरिएको नेता पाण्डेले जानकारी दिए । उनका अनुसार आयोगमा बुझाएको पत्रमा नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटीका २९० जनाको नाम उल्लेख गरिएको छ ।

बुधबार बसेको नेकपाको प्रचण्ड-माधव समूहको बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गरी अध्यक्षबाट हटाएर बरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष चयन गर्ने निर्णय गरेको थियो । सोही निर्णय सो समूहले निर्वाचन आयोगमा बुझाएको हो ।

मंगलबार ओली समूहले पनि आफ्नो निर्णयसहितको पत्र आयोगमा दर्ता गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *