वर्गसंघर्षको अर्थ र आयाम !

  • नारायण शर्मा 

वर्गसंघर्षको अर्थ:
कुनै व्यक्ति वा वर्गमा दुई विपरित वृत्ति, विचार, बोली, विधि र व्यवहारका बिच विपरीतता, बेमेल, टकराव, द्वन्द वा अन्तर्विरोध हुन्छ । त्यो द्वन्द्व वा अन्तर्विरोध व्यक्ति र वर्गमा मात्र होइन, वस्तु वा घटनामा समेत हुन्छ । अर्थात् यो अनिवार्य र सार्वभौम हुन्छ । यसलाई दार्शनिक भाषामा विपरीतहरुको संघर्ष (struggle of opposit) पनि भनिन्छ । जब यसप्रकारको विपरीतहरुबिचको संघर्ष मानवजाति र तिनका विविध कृयाकलापका सन्दर्भमा देखिन्छ भने त्यो वर्गसंघर्ष हो । मानवसमाजमा व्यक्तिको मनदेखि परिवार, समुदाय, जाति, देश र सिङ्गो संसारसम्मका आयामहरुमा शोषक र शोषित, उत्पीडक र उत्पीडित वा शासक र शासित, हुने र नहुनेजस्ता दुई व्यक्ति वा शक्तिका बीचमा चल्ने सही र गलत, क्रान्ति र प्रतिक्रान्ति, न्याय र अन्याय, अग्रगमन र पश्चगमन, दमन र प्रतिरोधका घटना-परिघटनाहरु नै वर्गसंघर्षका अभिव्यक्ति हुन् । खासगरी मानवसमाजमा आर्थिक रुपमा बनेका मुख्य दुई वर्ग पुँजीपती र सर्वहारा अर्थात् हुने र नहुने व्यक्ति, समुदाय र राष्ट्रहरुको समूहलाई वर्ग भनिन्छ भने यी दुई वर्गहरुबिचको संघर्षलाई नै वर्गसंघर्ष भनिन्छ ।

सामान्यतया समाजमा रहेका दुई वर्गहरुको बिचमा चल्ने यो संघर्ष विविध क्षेत्रमा चल्ने गर्दछ । त्यसैले
वर्गसंघर्षको क्षेत्र बहुआयामिक र विशाल छ । माथि उल्लेख गरिएअनुसार दुई विपरित वृत्ति, विचार, विधि र व्यवहारहरु बोकेका विविध वर्गहरु बिचमा चल्ने यो संघर्ष मूर्त र मुख्य रुपमा आजको मानवसमाजका दुई मुख्य वर्गहरु सर्वहारा र पुँजीपतिका बिचमा चल्ने भएपनि यसका बाछिटाहरु व्यक्ति, परिवार, समुदाय, पार्टी, राज्य र सिङ्गो संसारसम्म पर्ने हुनाले धेरै ठाउमा धेरै प्रकारले धेरै स्वरुपमा यो प्रकट हुने गर्दछ । यसरी वर्गसंघर्ष हुने र चलाउनै पर्ने क्षेत्र धेरै छन् भने यसको आयाम पनि संसारव्यापी नै छ । यसैगरी विषयवस्तुका हिसाबले चल्ने वर्गसंघर्षका प्रकारहरु पनि विभिन्न छन् । वैचारिक, राजनीतिक, संगठनात्मक, आर्थिक र सांस्कृतिक विषयमा चल्ने संघर्ष, अन्तर्संघर्ष वा दुई लाइनसंघर्षहरु पनि वर्गसंघर्षकै प्रकार र परिणामहरु हुन् ।यस्तै वर्गसंघर्षका स्वरुपहरु पनि दुई थरी छन् । एउटा हुन्छ शत्रुतापूर्ण, निषेधात्मक र विध्वंसात्मक अनि अर्को हुन्छ मित्रतापूर्ण, स्वीकारात्मक र रचनात्मक ।

अब यी विविध पक्षबारे संक्षिप्तमा अलग अलग चर्चा गरौं :
स्थानका हिसाबले वर्गसंघर्षका क्षेत्रहरु : वर्गसंघर्ष उत्पन्न र अभिव्यक्त हुने वा सिर्जना, संचालन र समापन हुने ठाउँ वा केन्द्रहरु नै स्थानका हिसाबले वर्गसंघर्षका क्षेत्र मानिने स्थलहरु हुन् ।

अ) व्यक्ति :- वर्ग संघर्षको एउटा क्षेत्र व्यक्ति स्वयं हो । व्यक्तिभित्र दुई विपरित सही र गलत, असल र खराब, अग्रगामी र पश्चगामी, जुझारु र संझौतावादी, विद्रोही-क्रान्तिकारी र दलाल-अवसरवादी, स्वाधीन र पराधीन, देशभक्तिपूर्ण र देशद्रोही, स्वाभिमानी र आत्मसमर्पणवादी, बैज्ञानिक र रुढीबादी जस्ता विचार र प्रवृत्तिहरु रहेका हुन्छन् । तिनका बीचमा स्वत: संघर्ष पनि भैरहेको हुन्छ । कुनै काम वा कुरा गर्ने कि न गर्ने, कुनै प्रचलन मान्ने कि न मान्ने भन्नेजस्ता विषयमा व्यक्तिभित्र हुने अन्तर्द्वन्द्वलाई आत्मसंघर्ष भनिन्छ । व्यक्तिको सामाजिक चेतना र दायित्वबोधले त्यो संघर्षलाई कति, कुन हदसम्म र किन चलाउने वा नचलाउने भन्ने निर्धारण गर्दछ । यसरी कुनै व्यक्ति स्वयंले आफैभित्र आफ्नै सामाजिक-राजनीतिक चेतनाको बलले संचालन गर्ने आत्मसंघर्ष पनि अन्तर्संघर्ष हो र त्यो पनि वर्गसंघर्षकै एक रुप हो ।  व्यक्तिभित्र सीमित भएर व्यक्ति स्वयंले संघर्ष गर्ने हुनाले व्यक्तिलाई पनि वर्गसंघर्षको एक क्षेत्र भनिएको हो ।

आ) परिवार :- माथि उल्लिखित विपरित विचार र प्रवृत्तिहरुको द्वन्द हुने अर्को क्षेत्र परिवार पनि हो । परिवारमा पुराना र नयाँ, रैथाने र आगन्तुक, सत्तासीन र सत्ताहीन, कमाउने र नकमाउने, शिक्षित र अशिक्षित, पुरुष र महिलाजस्ता दुई भिन्न व्यक्ति, समूह वा समुदायहरु हुन्छन् र तिनका बिचमा सही र गलत वा व्यक्तिवादी र समाजवादी प्रकारका सोंच र संस्कारहरुबिच पनि सामाजिक, आर्थिक र राजनीतिक संघर्षहरु हुन्छन् । कुनै एउटा परिवारका सदस्यहरुमा सीमित भएर चल्ने-चलाइने यो संघर्ष पनि वर्गसंघर्षकै एउटा भिन्न स्वरुप हो र यो चल्ने क्षेत्र एउटा परिवार हुने हुनाले वर्गसंघर्षको एउटा क्षेत्रको रुपमा परिवारलाई पनि मानिएको हो।

इ) समुदाय :- कुनै व्यक्ति जब ऊ आफ्नो घरबाहिर निस्कन्छ तब त्यो छिमेकमा र टोलमा प्रवेस गर्छ र त्यहा विभिन्न वर्ग,जाति, लिङ्ग, धर्म, भाषा, क्षेत्र आदिका मानिसहरु भेटिन्छन् । उनीहरुको त्यो समूह नै समुदाय हो र त्यो समुदायमा विविधताका कारण पनि विभिन्न खाले वेमेल बिचार, प्रवृत्ती र संस्कार-संस्कृति हुने हुँदा आपसमा संघर्ष हुन्छ । त्यसैले समुदायलाई पनि वर्गसंघर्षको एउटा क्षेत्र मानिएको हो ।

ई) पार्टी :- समुदायबाट अघि गएर मानिस आ-आफ्नो विचार, बुझाइ, शिक्षा, सम्बन्ध र परिवेशका कारण विभिन्न राजनीतिक पार्टीहरुमा प्रवेस गर्दछन् । पार्टी स्वयं एक मूल विचारको, वर्गको, लक्ष्य-उद्धेश्यको संगठित शक्ति भएतापनि यसमा प्रवेस गरेका व्यक्तिहरुका विभिन्न वर्गीय, जातीय आदि विविध पृष्ठभूमि र सम्बन्ध-सम्पर्कका कारण विभिन्न चिन्तन र चरित्रकाबिच बेमेल र अन्तर्विरोध हुन्छ र विभिन्न विचार/जाति/क्षेत्र आदिसँग सम्बन्धित गुट-उपगुट वा स्वार्थसमूह-उपसमूहहरु बन्छन् र त्यहाँ पनि संघर्ष जोडदार नै चल्दछ । यसरी एउटै वर्ग, विचार, वृत्ती र बचनमा बद्ध एउटै पार्टीमा पनि विभिन्न वर्गका वर्गीय विचार र संस्कार बोकेका व्यक्ति वा समूहहरु बीच अन्तर्संघर्ष हुन्छ र त्यो कहिलेकाहिं त दुश्मनीपूर्ण र निषेधात्मक पनि हुने गर्दछ । त्यसैले त सामान्यतया अन्तर्संघर्ष भन्नाले कुनै पार्टीभित्रको लडाइ र उठकापटकी नै मुख्यरुपमा बुझ्ने गरिएको हो ।

उ) सत्ता :- वर्गसंघर्षको अर्को ठूलो र महत्वपूर्ण क्षेत्र सत्ता हो । जब मानिसहरु राजनीतिक पार्टी हुँदै अन्तर्संघर्षका जटिल र कठिन मोड, उतारचढाव र उहापोहहरुलाई झेल्दै र अघिबढ्दै जान्छन् तब उनीहरुको गन्तव्य सत्ता हुन जान्छ र वर्गसंघर्ष पनि नयाँ, भिन्न र उच्च रुपमा सत्तामा वा सत्ता प्राप्तिको संघर्षमा नै प्रकट हुन पुग्दछ । सत्ता प्राप्तिको लागि हुने वर्गसंघर्षको भीषणताका क्रममा पार्टी र सत्ताभित्रको अन्तर्संघर्ष पनि भयावह नै हुन पुग्दछ । सत्ता प्राप्तिको यो लालसा र लडाई हठ, दम्भ, अहङ्कार, शक्ति र स्वार्थमा आधारित हुनाले यो त यति निर्मम, निषेधात्मक र निर्णायक हुन्छ कि त्यहाँ कुनै न्याय, नैतिकता, नीति, नियम, निर्णय, निर्देशन आदिको कत्तिपनि  मतलव हुँदैन । यहाँसम्म कि न्याय समानता र सुखशान्तिको निम्ति जीवनभर लडेर आएका पार्टीका नेताहरु नै सत्ताको निम्ति पार्टीमा मात्र होइन सत्तामा पनि सत्तास्वार्थका निम्ति मरिहत्ते गर्छन्, मर्न-मार्न तयार हुन्छन् र ठुल्ठुला षड्यन्त्र गर्छन्, बीभत्स हत्याकाण्डका शृङ्खला नै चलाउँछन् र आफ्ना गुरु वा चेला, सहकर्मी र सहयोद्धा तथा एउटै लक्ष्य-उद्देश्यका अभियन्ताहरुलाई विपक्षीहरुको नाममा दमन गरी समन नै गर्दछन् । यस्तो विडम्बना नै हुन्छ कि सत्ताको माध्यमबाट पूरै समाज र देशमा शान्ति, सुरक्षा, न्याय, समानता र स्वतन्त्रताको प्रत्याभूती दिने भन्ने ठुलाबडाहरु नै जब यो सत्ताको नेतृत्व वा त्यस्को आसपासमा पुग्छन्, तब तिनीहरु नै यस्ता निकृष्ट र तुच्छ अपराधहरु गर्न पुग्छन् । त्यसैले त सत्तालाई वर्गसंघर्षको मात्र होइन, अन्तर्संघर्षको पनि सर्वोच्च र क्रूर क्षेत्र भनिन्छ । सत्ता संघर्षका रुपमा व्यक्तहुने वर्गसंघर्ष र अन्तर्संघर्षका क्षेत्रहरु पनि मुख्यतः तीन वटा छन् । ती सरकारमा हुने संघर्ष र सदनमा हुने संघर्ष र सडकमा हुने संघर्ष । सडकमा हुने संघर्ष एउटा ठूलो हाँक नै हो, जो निर्णायक र निर्मम अनि भयङ्कर र भीषण पनि हुन्छ । यो पनि मुख्यत: दुई रुपमा अभिव्यक्त हुन्छ । वैधानिक वा अवैधानिक, खुला वा भूमिगत, शान्तिपूर्ण वा सशस्त्र अर्थात् जनआन्दोलन वा जनयुद्ध/जनविद्रोह ।

ऊ) वर्ग :- सामान्यतया समाजमा रहेका विविध वर्गहरु र मुख्यत: दुई वर्ग शोषक र शोषित वा उत्पीडक र उत्पीडित वर्ग र राष्ट्रहरुबीच चल्ने संघर्ष, लडाइ वा युद्धलाई राजनीतिक भाषामा वर्गसंघर्ष भनिन्छ । अन्तर्संघर्षको विस्तारित वा विकसित रुप वर्गसंघर्ष हो भने वर्गसंघर्षको मिहीन व सूक्ष्म रुप अन्तर्संघर्ष हो । यस्तै कुनै राजनीतिक पार्टीभित्र चल्ने वर्गसंघर्षलाई राजनीतिक शब्दावलीमा दुई लाइनसंघर्ष भनिन्छ । त्यसैले वर्गसंघर्ष र अन्तरसंघर्ष वा दुई लाइन संघर्ष भन्ने कुरा कम्तीमा समाजमा वर्गहरु वा तिनका अवशेषहरु रहँदासम्म सार्वभौम, सार्वजनीन र सार्वकालिक मानिन्छन् । जे होस्, विपरीत वर्गहरुमा चल्ने वर्गसंघर्ष अन्तर्संघर्षको एक अत्यन्त व्यापक, बृहद् र सर्वोच्च क्षेत्र हो । यो यति सर्वव्यापी छ कि व्यक्तिदेखि वर्ग हुँदै राष्ट्र र विश्वभरी नै शोषक र उत्पीडक वर्ग र राष्ट्रहरु यसको चपेटामा आउँछन् र पूरै विश्व नै अन्तर्संघर्ष अर्थात् यसको सर्वोच्च रुप वर्गसंघर्षको क्षेत्र बन्न पुग्दछ ।

ख) विषयका हिसाबले वर्गर्संघर्षका क्षेत्रहरु : विषयवस्तुका हिसाबले अन्तर्संघर्षका क्षेत्रहरु मुख्यत: तीन प्रकारका रहेका छन् ।

अ) वैचारिक/राजनीतिक क्षेत्र :-दर्शन, दृष्टिकोण, सिद्धान्त, नीति, कार्यक्रम र कार्ययोजनासँग सम्बन्धित विषयमा चल्ने विवाद, बहस, खण्डन, मण्डन, समर्थन, विरोध, छलफल, टिप्पणी र आलोचनाजन्य अन्तर्संघर्षहरु यसै क्षेत्रमा पर्दछन् । स्मरणीय छ कि तत्कालीन सोभियत रुस र चीनका दुई कम्युनिस्ट पार्टी बिचमा चलेको महाविवाद पनि सर्वहारवर्गीय क्रान्तिकारी विचार र राजनीति एवं पुँजीवादी प्रतिक्रान्तिकारी वर्गीय विचार र राजनीतिसम्बन्धी संघर्ष पनि अन्ततः र सारत: वर्गसंघर्ष नै थियो जो पछिल्तिर आएर सबैका सामु छर्लङ्ग नै भएको छ । स्पष्ट छ कि अहिले रुसमा समाजवाद होइन पुँजीवाद समृद्ध बनेको छ । यसैगरी चिनियाँ कम्युनिस्ट पार्टीभित्र चलेको दुई लाइनसंघर्षको अभिव्यक्ति स्वरुप महान् सर्वहारा सांस्कृतिक क्रान्ति पनि पार्टी, राज्य र समाजमा विद्यमान पुँजीवादपन्थी अवसरवादी र मार्क्सवादपन्थी क्रान्तिकारीबीच चलेको भीषण वर्गसंघर्ष नै भएको जग जाहेरै छ ।

आ) संगठनात्मक क्षेत्र :- कुनै निश्चित उद्देश्य प्राप्तिको लागि प्रतिबद्ध र कटिबद्ध मानिसहरूको समूह नै संगठन हो ।  यसलाई कसरी बनाउने, कस्तो बनाउने र कसरी परिचालन गर्ने भन्नेजस्ता विषयहरुमा केन्दृत भएर संगठनभित्र वा बाहिर पनि चल्ने अध्ययन, चिन्तन, मनन र विचार विमर्श, बहस र विवाद आदि सबै संगठनात्मक क्षेत्रका अन्तर्संघर्ष अर्थात् वर्गसंघर्ष नै हुन् । लक्ष्यअनुसारको संगठन, संघ, संस्था वा अभियान-प्रतिष्ठान भएन भने लक्ष्य प्राप्ति नहुने मात्र होइन कि उल्टै लक्ष्यनै उल्टिने वा सिद्धिने खतरा हुन्छ । त्यसैले संगठन पनि समाजमा चल्ने वर्गसंघर्षकै भित्री रुप अन्तर्संघर्षको एउटा मूल थलो नै हो । अझ यतिमात्र पनि होइन, वास्तवमा यही संगठनभित्रै संगठनको लक्ष्य-उद्देश्य के कस्तो हुने र कसरी प्राप्त गर्ने भन्नेबारेमा पनि अत्यधिक छलफल, विवाद र संघर्ष हुन्छ जो वर्गसंघर्षसँगै अभिन्न रुपले जोडिएको हुन्छ । त्यसैले संगठनलाई अन्तर्संघर्षको मात्र नभएर वर्गसंघर्षकै एउटा मुख्य क्षेत्र भनिएको हो ।

इ) आर्थिक/सांस्कृतिक क्षेत्र :- राज्य र समाजमा हुने आर्थिक/सांस्कृतिक कृयाकलाप र तीसँग सम्बन्धित यावत विषयहरु पनि वर्गर्संघर्षका क्षेत्र हुन् । यी विषयहरु हाम्रो समाजमा अघिल्ला विषयहरुभन्दा झन् बढी संवेदनशील र गम्भीर मानिन्छन् । त्यसैले सार्वजनिक र राष्ट्रिय जीवनका व्यक्ति र शक्तिहरुका आर्थिक वा सांस्कृतिक कामकार्वाहीहरुप्रति सार्वजनिक निगरानी, चासो, चिन्ता, आलोचना र विरोध हुने गर्दछ र त्यसप्रकारका शक्ति र व्यक्तिहरु र तिनका पक्ष-विपक्षमा सरोकारवाला आम जनसाधारणका बीच विरोध र समर्थनस्वरुप विरोध र समर्थनका रुपमा र्संघर्ष अभिव्यक्त हुन्छ जो सारमा वर्गसंघर्ष र अन्तर्संघर्ष नै हो ।यसका अतिरिक्त राज्य र समाजका निम्ति के कस्ता आर्थिक, सामाजिक र सांस्कृतिक मूल्य-मान्यता, नीति-नैतिकता, विधि-विधान, रीती-स्थिती र चाड-पर्वहरु मान्ने-नमान्ने भन्ने आम जनसरोकारका विषयहरुका बारेमा हुने मत-मतान्तर र स्वीकार-बहिष्कार आदि पनि वर्गसंघर्ष वा अन्तर्संघर्षकै विविध रुप र परिणामहरु हुन् किनकी यस्ताव संघर्षहरु अन्ततः दुई वर्ग प्रतिक्रियावादी र प्रगतिवादी वर्गसंग जोडिएका हुन्छन् ।

निष्कर्ष

सजमा वर्गहरु छन् । ती वर्गहरु रहेका समाजका व्यक्ति, पार्टी, संघसंस्था, संगठन र सत्तामा अन्तर्संघर्ष वा दुई लाइनसंघर्ष अनिवार्य रुपले विद्यमान हुन्छ । यो अन्तर्संघर्ष वा दुई लाइनसंघर्ष समाजमा रहेका वर्गहरु र तिनका बिचको संघर्षको प्रतिबिम्बन हो । यसको क्षेत्र विशाल र बहुआयामिक छ भने यसका स्वरुपहरु पनि विविध प्रकारका छन् । मित्र वर्ग, व्यक्ति वा शक्तिहरुबीचको संघर्षको मूल प्रवृत्ति मैत्रीपूर्ण र रचनात्मक हुन्छ र गराउनु पर्छ भने दुश्मन वर्ग, व्यक्ति र शक्तिहरुबीचको संघर्षको मूल प्रवृत्ति दुश्मनीपूर्ण र विध्वंसात्मक हुन्छ भन्ने कुरामा वैचारिक रुपले स्पष्ट हुनु पर्दछ । साथै कहिलेकाही मित्र शक्तिबीचको संघर्ष पनि दुश्मनीपूर्ण हुने र दुश्मन शक्तिहरुबीचको संघर्ष पनि मैत्रीपूर्ण हुने हुन्छ । सारत: ती शक्तिहरुको वैचारिक-राजनीतिक रुपमा आएको परिवर्तन, रुपान्तरण वा विचलन र शक्तिसन्तुलनसंगै मित्रतापूर्ण हुनुपर्ने संघर्ष दुश्मनीपूर्ण र दुश्मनीपूर्ण हुने संघर्ष पनि मित्रतापूर्ण हुने हुन्छ । त्यसैले के कारणले कुन वर्ग, शक्ति, व्यक्ति वा विचारमा के-कस्तो र किन विचलन, परिवर्तन वा रुपान्तरण भएको हो भन्ने कुरा बुझेर मात्र अन्तर्संघर्ष र वर्गसंघर्षका स्वरुप र विधिहरु तय गरिनु पर्दछ, अन्यथा अनावश्यक अति क्षति हुने हुन्छ । धन्यवाद !!

(शर्मा पुराना र पाका कम्युनिष्ट नेता हुन्। उनी तत्कालीन माओवादीले जनयुद्ध शुरु गर्दाका १६ जना केन्द्रीय सदस्यमध्येका एक हुन्।) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *