वामदेव र बादल आफूतिरै आउने प्रचण्डको दावी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ आफ्नो पक्षमा आउने दाबी गरेका छन् ।

आफूले नेतृत्व गरेको समूह नै आधिकारिक पार्टी भएको भन्दै उनले गौतम र थापालाई बैठकमा सहभागी हुन आग्रह गरेका हुन् । मंगलबार आफू र माधव नेपाल पक्षीय केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दौ अध्यक्ष प्रचण्डले भने, वामदेवजी र बादलजीसँग मेरो भावनात्मक सम्बन्ध छ । यो नै आधिकारिक पार्टी हो । उहाँहरुलाई सगौरव आउन आग्रह गर्छु ।’

प्रचण्डले केपी ओली समूहले बालुवाटारमा गरेको बैठक अवैधानिक भएको भन्दै त्यसलाई गुट भेलाको संज्ञा दिए । उनले सो बैठकले वैधानिकता प्राप्त गर्न नसक्ने पनि जिकिर गरे ।

उनले एकतिहाई सदस्य बसेर तीन तिहाई थप्ने निर्णय गर्न नमिल्ने पनि बताए । ‘एकतिहाई सदस्य बसेर तीन तिहाई थप्ने निर्णय गर्न मिल्छ?’, उनले ओलीलाई प्रश्न गरे ।

प्रचण्डले ओलीको कार्यशैली कम्युनिष्ट आचरण र व्यवहार विपरित भएको आरोप पनि लगाए । ‘उहाँमा धैर्यता छैन । बैठक बस्न पार्टीको अध्यक्षले अर्को अध्यक्षसँग अनुनय गर्नुपर्ने अवस्था एउटा कम्युनिष्टमा हुन सक्दैन,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *