नेकपा केन्द्रीय सदस्य शर्माले गरे १५ बूँदे धारणा सार्वजनिक, कुनै पनि पक्षमा नलाग्ने घोषणा

काठमाडौँ। सत्तारुढ नेकपामा औपचारिक विभाजनको प्रक्रिया शुरु भएसंगै सो पार्टीका केन्द्रीय नेताहरुले आ-आफ्ना धारणा सार्वजनिक गरिरहेका छन्। कतिपय तटस्थ बसेका भनिएकाहरुले कित्ता क्लियर गर्न थालेका छन् भने कतिपयले अझै पनि आफ्नो पक्षधरता प्रष्ट्याएका छैनन्।

तर, केही नेताले भने नेकपाको अहिलेको बिभाजनलाई कुनै बैचारिक अन्तरविरोधको नभई व्यक्तिका स्वार्थहरूको टकरावको परिणाम भन्दै कुनै पनि समूहलाई आफ्नो समर्थन नरहने बताउन थालेका छन्। यो बिचारमा लागेका नेता हुन् नारायण शर्मा। पुराना र पाका वामपन्थी नेता तथा नेकपाका केन्द्रीय सदस्य रहेका उनी तत्कालीन माओवादीले जनयुद्ध शुरु गर्दाका १६ जनामध्येका एक केन्द्रीय सदस्य पनि हुन्। उनले आफ्नो समर्थन प्रचण्ड-माधव पक्षलाई हुने तर तत्काल कतै पनि नलाग्ने प्रष्ट पारेका छन्।

आज आयोजित दुवै पक्षका केन्द्रीय समिति बैठकबारे मेरा धारणा भन्दै शर्माले आफ्ना १५ बूँदे मत सार्वजनिक गरेका छन्।

यस्ता छन् शर्माले सार्वजनिक गरेका धारणा :

  • एकीकरण गर्दा पर्याप्त वैचारिक राजनीतिक विषयमा छलफल नगरी-नगराई हठात् र बलात् हतार-हतारमा दुई अध्यक्षको चोंचोमोचो मिलाएर पद बाँडफाँड गरी एकता गर्नु नै गलत थियो ।
  • नेपालजस्ता कम विकसित अर्धसामन्ती र अर्ध/नवऔपनिवेशिक देसमा सर्वहारा क्रान्तिको मार्गदर्शक सिद्धान्तमा माओका विचारहरु पनि अवलम्बन गर्ने कुरामा त्रुटि भएको छ।
  • क्रान्तिमा बल प्रयोगको सार्वभौम मान्यतालाई आत्मसात नगर्नु कायरतापूर्ण सैद्धान्तिक विचलन भएको छ ।
  • नेपालमा पुँजीवाद आइसकेको वा पुँजीवादी जनवादी क्रान्तिभैसकेको विश्लेषण उपरी प्रकारको रहेको छ। यो राष्ट्रिय पुँजीवाद नभएर दलाल तथा नोकरशाहीका साथै आसेपासे पुँजीवाद समेत हो, जो पुँजीवादी जनवादी क्रान्तिको दुश्मन हो तर त्यही पुँजीवादलाई राष्ट्रिय पुँजीवाद मानेर समाजवादी क्रान्ती गर्ने कुरा अवस्तुवादी र अबैज्ञानिक छ। फलतः आज दलालीकरण, कमिसनखोरी र घुस-भ्रष्टाचारजस्ता समस्याहरु विकराल रुपमा बढेर नेपालका क्रोनिक समस्या बन्न पुगेका छन् ।
  • जनवादी क्रान्तिका मुख्य दुई कार्यभार राष्ट्रिय र जनवादी क्रान्ती सम्पन्न गर्नु हो । नेपालमा राजतन्त्र ढलिसकेपछी जनवादी क्रान्ति अर्थात् सामन्तवादविरुद्धको क्रान्तिको आधारभूत प्रकृया ८० प्रतिशतजति पूरा भएको र २० प्रतिशतजति बाँकी रहेको भनिएपनी त्यो घट्ने-घटाउने क्रममा भन्दा बढ्ने-बढाउने क्रममा छ। यसको मूलमा वैचारिक र सांस्कृतिक रुपले सामन्तवाद हामीमै पनि जब्बर रुपमा रहनु र त्यसका विरुद्धको संघर्ष गर्ने कुरामा चिन्तनगत विचलन र सैद्धान्तिक अस्पष्टता गम्भीर समस्या भएको छ ।
  • जनवादी क्रान्तिको अर्को मुख्य कार्यभार राष्ट्रिय क्रान्ती अर्थात् वैदेशिक शोषण(दमन र हस्तक्षेप समाप्त गर्नु हो। तर विडम्बना, २००७ साल वरिपरिबाट शुरुभएको जनवादी क्रान्तिको यो प्रकृया २०३६, २०४६, र २०६२/२०६३ सम्ममा विकसित र सफल हुँदै आउँदा वैदेसिक हस्तक्षेपको प्रकृया कम हुनुको साटो उल्टै गुणात्मक रुपमा बढेर गएको छ । त्यसैले नेपालमा अहिले वैदेशिक हस्तक्षेप विरुद्धको संघर्षलाई बढाउनु पर्नेमा उल्टो हामी कम्युनिस्टहरु नै साम्राज्यवाद र विस्तारवादको भक्ती, स्तुति र चाकडी गरेर दलाल, दास र दब्बु मानसिकता बोकेर उछिनापाछिन गरिरहेका छौं ।
  • माथी ५ र ६ नं बुँदामा उल्लेख गरिएका समस्याको केन्द्र हाम्रै नेतृत्वपंक्ती हो र त्यहाँ रहेको सामन्तवाद र साम्राज्यवादप्रतिको आत्मसमर्पणवाद सर्वाधिक ठूलो समस्या भएकोले यसका विरुद्धको वैचारिक संघर्षलाई तीव्रता र व्यापकता दिंदै त्यसमा सापेक्षित विजय प्राप्त गरेसङ्गै साम्राज्यवादी-विस्तारवादी शोषण, दमन र हस्तक्षेप विरुद्धको संघर्ष चर्काउन सकिन्छ र चर्काउनु पर्दछ ।
  • हाम्रो गन्तव्य वा अधिकतम कार्यक्रम समाजवाद-साम्यवाद भएकाले समाजवादी क्रान्तिको आधार तयार गर्नको लागि हाम्रो समाजवाद कस्तो समाजवाद भन्ने स्पष्ट हुनु जरुरी हुन्छ ।
  • हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाली सर्वहारा वर्गको अर्थात् वर्गीय रुपमा गरीब, भूमिहीन, किसान, मजदुर वर्गको अग्रदस्ता हो र हुनु पर्दछ भने वैचारिक रुपमा कम्तीमा हामीले घोषित रुपमा स्वीकारेका मार्क्सवाद-लेनिनवादलाई मान्ने अर्थात् जीवन दर्शन बनाउने देसभक्त, जनवादी, वामपन्थी, प्रगतिशील र क्रान्तिकारी वर्ग र समुदायको हो र हुनु पर्दछ । तर विडम्बना छ कि उक्त मान्यताको विपरीत सामन्त, दलाल, नोकरशाह, विचौलिया, माफिया, तस्कर जस्ता विजातीय वर्गको अग्रदस्ता बन्ने खतरा बढिरहेको स्थिती छ ।
  • पार्टीका घोषित विचार, सिद्धान्त, मूल्यमान्यता र नीति(नैतिकता सम्बद्ध कुराहरु अहिले हात्तीका देखाउने दाँत भएका छन् भने चपाउने दाँत नित्तान्त विपरीत छन्। यो वैचारिक, राजनीतिक, आर्थिक र सांस्कृतिक शुद्धीकरण र रुपान्तरणको समस्या हो।
  • रुपान्तरको यो समस्या हल गर्न कम्तीमा घोषित सिद्धान्त अनुसारको व्यवहार, राजनीती अनुसारको संस्कृति, लिखितम र वकितम अनुसारको करितम हुनु जरुरी छ। आज यो समस्या हाम्रो पार्टीमा यति गम्भीर छ कि यस्ले नेपालका समस्त कम्युनिस्ट पार्टीहरु र समग्र कम्युनिस्ट आन्दोलन नै अस्तव्यस्त, ग्रस्त-त्रस्त र ध्वस्त पारेको छ ।
  • उपरोक्त गल्ती, कमी र कमजोरीका कारण नै अहिले आफ्नै पार्टीको दुई तिहाईको बर्चस्व रहेको संघीय प्रतिनिधिसभाको आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी वलीले हतार-हतारमा हठात् र बलात् विघटन गरेर देस अस्थीरता र अराजकताको पुरानै खाडलमा मात्र जाँदैछैन, प्रतिक्रान्ति र प्रतिगमनको दिशामा जाने निश्चितजस्तै देखिएको छ। अन्ततः राज्य नै विखण्डन र विघटन हुने गन्भीर खतरा समेत बढेको छ। यसैगरी पार्टी पनि औपचारिक विभाजनको मात्र होइन विकृतीकरण, विघटन र विसर्जनकै प्रकृयामा जाने प्रबल खतरा छ ।
  • आज विगत लामो समयदेखी जटिल र गम्भीर बन्दै आएका नेपाली राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु हल गर्दै क. पुस्पलाललगायतले पार्टी स्थापना गर्दादेखिकै लक्ष्य नयाँ जनवादी क्रान्ती पूरा गर्न आवश्यकता अनुसार संयुक्त र सशस्त्र आन्दोलन समेत गरी क्रान्तिको यो प्रकृयालाई समाजवादको आधार तयार गर्ने कार्यदिशामा अघि बढ्ने बेलामा वैदेशिक र घरेलु प्रतिक्रियावादीहरुको पहल र मनसुवा सार्थक हुने गरि भैरहेका विचार र विधिका आवरणमा पार्टी र सरकारभित्रका अन्तर्पार्टी संघर्षका नामका यी वादविवाद र प्रतिवाद अनि एकले अर्कालाई गर्ने कार्वाही र निष्कासनका तयारीहरु पार्टी विभाजनका औपचारिक हर्कतहरु हुन् ।यद्यपि ध्वंसपछि निर्माण हुने वस्तुगत नियम अनुसार विभाजन वा विसर्जनपछी पनि क्रान्तिकारी ध्रुवीकरण र पुनर्गठन हुने कुरा त्यत्तिकै सत्य र अवश्यम्भावी छ । वास्तवमा समस्याको सही र स्थायी समाधान कार्वाही होइन।आलोचना र आत्मालोचना नै पार्टीभित्रका समस्या हलगर्ने प्रथम विधि हो भने अन्तर्संघर्ष र दुईलाइन संघर्षलाई विचार र राजनीतिमा आधारित र केन्दृत भएर व्यवस्थित रुपमा मैत्रीपूर्ण र रचनात्मक रुपले संचालन गरि जनवादी केन्द्रीयताको सिद्धान्त र विधि अनुसार रुपान्तरण हुने(गर्ने उद्देश्यले एउटा निष्कर्षमा पुग्नु पुराउनु मात्रै बैज्ञानिक र क्रान्तिकारी हुन्छ। यो कुरा बेग्लै हो कि रुपान्तरण नहुने विजातीय वर्ग र विचारका व्यक्ति र प्रवृत्ति विरुद्धको संघर्ष दुश्मनीपूर्ण हुने र कार्वाहीको प्रकृया अवलम्बन गर्ने कुरालाई उपेक्षा गर्नु हुँदैन ।
  • अहिलेको लडाइँ मुख्य मुद्दा संसद्लाई विसर्जन गर्ने र पुनर्जीवन गर्नेमा केन्दृत छ। यो संसद् पुनर्स्थापना गरे पनि र पार्टी यही रुपमा एकताबद्ध भैरहे पनि राष्ट्रियता, जनतन्त्र र जनजीविकाका आधारभूत समस्याहरुको समाधान हुने देखिदैन भने संसद् विघटन र पार्टी बिभाजनले त झन् प्रतिगमन र राष्ट्रिय आत्मसमर्पणलाई नै बल दिने नै देखिन्छ ।
    त्यसैले यी संसदीय संसद पुनर्थापना वा नयाँ निर्वाचनको फन्दामा होइन, पार्टीलाई सैद्धान्तिक-राजनैतिक रुपले तीव्र र स्पष्ट पार्दै अहिलेलाई सर्वपक्षीय सभाको आयोजना द्वारा राष्ट्रिय सहमतिको अन्तरिम सरकार गठन गर्ने र त्यसै सरकार र सभाले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका आधारभूत समस्याको समाधान गर्न विभिन्न शक्तिशाली आयोगहरु बनाएर सुझाव लिएर विकृती र विसङ्गतिले भरिएको वर्तमान संसदीय ब्यबस्थाको बिकल्प खोज्नु अहिलेको वस्तुवादी, बैज्ञानिक, सरल र मियव्ययी बाटो हो ।
  • यिनै विचार र मान्यताहरु अनुसार चल्ने र चलाउने प्रकृयामा जुन जुन समूह, शक्ति र व्यक्ती हुनेछन्, तिनैप्रती हाम्रो समर्थन, सहयोग र सहभागिता हुने छ । त्यसैले अहिले यथास्थितिमा ओली वा प्रचण्ड समूहमध्ये तुलनात्मक रुपले दोस्रो समूहमा देसभक्त र इमान्दार क्रान्तिकारी भएकाले र कतिपय विचार र मुद्दा-भावनाका कारणले पार्टीसंगको सम्बन्ध नतोडे पनि कुनै एकको नेतृत्वका समूहको बैठकमा गैहाल्नु भन्दा कुनै पनि मालेमावादी स्वाभिमानी, स्वच्छ र सच्चा इमान्दार क्रान्तिकारी कम्युनिष्टहरुको केन्द्रमा हाम्रो सहभागिता र सकृयता हुनेछ ।अत: यसै दिशामा दुवै र सबै समूहका सदस्य-शक्ति हरुलाई गोलबन्द हुन, संघर्ष गर्न र समर्पित हुन आग्रह छ।  धन्यवाद! लाल सलाम!

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *