विभाजनको औपचारिकतातर्फ नेकपा : एक अर्कालाई कारबाहीको तयारीमा दुवै पक्ष

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आज औपचारिक रुपमा विभाजनतर्फ जाने देखिएको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली दुवै समूहले मंगलबार केन्द्रीय कमिटीको समानान्तर बैठक बोलाएसंगै नेकपा औपचारिक रुपमा विभाजनमा जाने निश्चित भएको हो ।

दुवै पक्षले फरक–फरक स्थान र समयमा केन्दीय कमिटी बैठक बोलाएका छन्। प्रधानमन्त्री ओली पक्षको बैठक अहिले बिहान ९ बजे बालुवाटारमा तथा अध्यक्ष ‘प्रचण्ड’ र नेता माधवकुमार नेपाल पक्षको बैठक दिउँसो १ बजे कार्की बेङ्क्वेटमा बस्न लागेको हो ।

सोमबार दुवै पक्षले सांसदहरूको बेग्लाबेग्लै भेला र हस्ताक्षर गरेर विभाजनको तयारी पूरा गरिसकेका छन् । राष्ट्रिय सभा र विघटित प्रतिनिधिसभा दुवै सदनका सांसदको संयुक्त भेलापछि उनीहरूले आ–आफ्नो पक्षमा बहुमत रहेको दाबी गरिसकेका छन् । प्रचण्ड-नेपाल पक्षले ओलीलाई पार्टीले अनुशासनको कारवाहीका लागि केन्द्रीय समितिलाई प्रस्ताव गरेको जानकारी निर्वाचन आयोगलाई दिइसकेका छन् ।

ओली पक्षको बैठकले प्रचण्डलाई अनुशासनको कारवाही गर्ने तयारी गरेको छ । अनुशासनहीन काम गरेको, आफ्नै पार्टीको अध्यक्ष प्रधानमन्त्रीविरुद्ध विपक्षीसँग मिलेर अविश्वास प्रस्ताव दर्ता गर्न खोजेको, पार्टी एकता विपरीत गतिविधि गरेको लगायतका आरोप लगाउँदै प्रचण्डलाई अध्यक्ष पदबाट हटाउने ओली पक्षको तयारी छ ।

यता प्रचण्ड-नेपाल पक्षले भने आफूहरुसंग बहुमत केन्द्रीय सदस्य साथमा रहेकाले ओलीको कारवाहीको निर्णय बैधानिक नहुने बताइरहेको छ। यो समूहले प्रधानमन्त्री ओलीले असंवैधानिक ढंगले जननिर्वाचित संस्था बिघटन गराएको भन्दै उनीमाथि कारवाहीको प्रक्रिया अघि बढिसकेको जनाएको छ ।

नेकपाको केन्द्रीय कमिटी ४४१ सदस्यीय छ । अहिलेसम्मको समिकरण हेर्दा प्रचण्ड–नेपाल समूह अत्यधिक बहुमतमा देखिन्छ । प्रचण्डनिकट करिब दुई सय र नेपालनिकट करिब एक सय १० जना केन्द्रीय सदस्य रहेको उनीहरूको दाबी छ । ओलीसंग भने जम्मा १२० जना केन्द्रीय सदस्य रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *