ओली कदमको शसक्त प्रतिरोध गर्ने प्रमुख तीन दलको निर्णय

काठमाडौं। संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्रतिगामी’ कदमको प्रमुख तीन दलले सशक्त प्रतिरोध गर्ने भएका छन् । सोमबार नेपाली काँग्रेसको पार्टी कार्यालयमा बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो ।

केपी ओेलीइतरको नेकपासँगै काँग्रेस र राजपाको केन्द्रीय कमिटी बैठकपछि थप छलफल गरेर ओलीको कदमको प्रतिवाद गर्न संयुक्त संघर्षका कार्यक्रम सार्वजनिक गर्ने बैठकले निर्णय गरेको छ ।

बैठकले स‌ंसद् विघटन घोषणालाई संविधानविरोधी, अलोकतान्त्रिक कदम ठहर गर्दै त्यसविरुद्ध संयुक्त रुपमा उत्रने निर्णय गरेको हो ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भोलि बस्ने नेकपा र काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रतिवादको रणनीति बनाउने र त्यसपछि बस्ने सर्वदलीय बैठकले एकृकीत नीति लिने निर्णय भएको जानकारी दिए ।

उनले भने, ‘तिनै पार्टी ओलीको कदमको विरुद्धमा छौँ । अब यसको विरोधमा कसरी एकजुट भएर अघि बढ्ने भन्ने सन्दर्भमा भोलिको केन्द्रीय समितिको बैठकपछि निर्णय हुनेछ ।’

बैठकमा नेकपाबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता वर्षमान पुन र पम्फा भुसाल सहभागी थिए ।

त्यस्तै काँग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला, पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल, रमेश लेखक थिए भने जसपाका अध्यक्ष महन्थ ठाकुर, शरदसिंह भण्डारी र जितेन्द्र सोनल सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *