काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधव नेपाल पक्षको बानेश्वरमा बसेको भेला सकिएको छ । भेलाले संसदको अधिवेशन बोलाउन राष्ट्रपति समक्ष माग गरेको छ ।
त्यसैगरी संविधानको प्रावधानअनुसार संसद् विघटन हुन नसक्ने भएकाले संसद् विघटन अस्वीकार गर्ने निर्णय पनि गरेको छ
सोमबार दिउँसो संसद भवन नयाँ वानेश्वरमा बसेको बैठकले संसद विघटनलाई अस्वीकृत गर्दै संविधानबमोजिम संसदको अधिवेशन बोलाउनुपर्ने समय भइसकेकाले संसद अधिवेशन अविलम्ब आह्वान गर्न माग गरेको हो ।
संसद्को एक अधिवेशन सकिएको ६ महिनाभित्र अर्काे अधिवेशन बोलाउनुपर्ने प्रावधान भएकाले अबिलम्ब संसद्को अधिवेशन बोलाउन माग गरिएको छ ।
संविधानमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नभएको भन्दै भेलाले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक ठहर गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले जनमतको अपमान हुने तथा देशलाई अनिश्चियको भूमरीतर्फ धकेल्ने गरी गरेको सिफारिस संविधानको संरक्षण गर्नुपर्ने संवैधानिक कर्तव्य भएका राष्ट्रपतिसमेत त्यसतर्फ कुनै संवेदनशील नरहेको भन्दै आपत्ति प्रकट गरेको छ ।
बैठकले संविधान र लोकतन्त्रमाथि नै प्रहार भएको र देशको राजनीतिक भविष्य अनिश्चयतर्फ धकेलिएको भन्दै राष्ट्रिय हित, संविधान र लोकतन्त्रका पक्षधर सबैलाई प्रतिनिधिसभाको विघटनविरुद्ध एकजुट भई अघि बढ्न आह्वान गरेको छ ।
साथै नेकपाको संसदीय दलको बैठक पर्सि बुधबार बोलाउने पनि निर्णय गरिएको छ ।