ओलीले बोलाएको भेलामा गएनन् बादल, आफ्नै निवासमा छुट्टै छलफल गर्दै

काठमाडौं। नेकपाका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादल प्रधानमन्त्री केपी ओलीले बोलाएको उनी पक्षधर नेता तथा संसदहरुको भेलामा अनुपस्थित भएका छन् ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नेकपा करिव फुट्ने निश्चित छ । संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई अलोकतान्त्रिक र पार्टीहित विपरित भन्दै नेकपाको स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरिसकेको छ ।

पार्टी विभाजन हुने निश्चित भएसंगै नेताहरु ओली कि पुष्पकमल दाहाल प्रचण्ड समूहमा लाग्ने भनेर कित्ता क्लियर गर्ने अभियानमा छन् । यसअघि प्रधानमन्त्री ओलीको समर्थनमा लागेका बादल आफ्नै समूहभित्रको चर्को दबाबका कारण ओली पक्षले बोलाएको भेलामा नगएका हुन् ।

ओलीको कदमले प्रतिगमनलाई सहयोग पुग्ने भएकाले उनको साथ दिन छोडेर परिवर्तनकारी कित्ता प्रचण्ड-नेपाल समूहमा आउन आफ्नै समूहबाट तिब्र दवाव बढेपछि बादल ओली पक्षको भेलामा जाने निर्णयबाट ब्याक भएका हुन् । बालुवाटार भेलामा नगएका बादलले बरु त्यहि समयमा आफूनिकट केन्द्रीय सदस्यहरुसंग छलफल गरेका छन् ।

प्रधानमन्त्रीको कदम र पार्टीमा देखिएको संकटबारे छलफल गर्न भन्दै उनले आफ्नो निवासमा आफूनिकट नेताहरुसंग छलफल गरेका हुन् । उक्त भेलामा स्थायी कमिटी सदस्यद्वय पम्फा भुसाल र देव गुरुङ, केन्द्रीय सदस्यहरु हितमान शाक्य,रामदीप आचार्य, अमृता थापामगर, लेखनाथ न्यौपाने, मनोज थापा, यशोदा सुवेदी, सूर्यप्रकास सुवेदी, मायाप्रसाद शर्मा, युवराज भराई, सुरेश आलेमगर, महेश्वर दाहाल लगायत दुई दर्जन भन्दा बढी नेता सहभागी रहेको बताइएको छ ।

भेलामा सहभागी एक नेताका अनुसार संसद विघटन गर्ने ओलीको कदमलाई अधिकांश नेताहरुले प्रतिगामी कदम भन्दै आफूहरु चुप लागेर नबस्ने बताएका थिए । अधिकांश केन्द्रीय सदस्यहरुले गहृमन्त्री बादललाई प्रचण्डको साथ नछाड्न आग्रह गरेको पनि ति नेताले बताए ।

यता, संसद विघटनपछिको अवस्थाका कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न सोमबार बिहानैदेखि ओली पक्षका नेताहरू बालुवाटारमा भेला भएका छन् । भेलामा ओली पक्षका सांसदहरूलाई पनि बोलाइएको छ ।

त्यस्तै प्रचण्ड-नेपाल पक्षले पनि आज दिउँसो आफू पक्षीय नेता तथा संसदहरुको भेला बोलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *