विपक्षी मोर्चा कस्दै कांग्रेस
संसद्‍मा सशक्त आवाज उठाउन जनता समाजवादी पार्टीसँग छलफल

काठमाडौँ। प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारको बेथितिविरुद्ध संसदमा सशक्त आवाज उठाउन अर्को विपक्षी जनता समाजवादी पार्टीका नेताहरूसँग परामर्श गरेको छ । दुवै दलले संसद्को हिउँदे अधिवेशन तत्काल बोलाउन पनि माग गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार जसपाका नेताहरूलाई आफ्नै निवास बूढानीलकण्ठमा बोलाएर छलफल गरेका हुन् । उनले जनसरोकार, बेथिति र भ्रष्टाचारका मुद्दामा सँगै मिलेर अघि बढ्न आग्रह गरेका छन् । जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जनसरोकारको मुद्दामा सहकार्य गरेर अघि बढ्ने समझदारी बनेको बताए ।

कांग्रेस नेता मीनेन्द्र रिजालले संसद्मा कसरी प्रभावकारी भूमिका निर्वाह गर्ने भन्ने विषयमा दुई दलबीच छलफल भएको जानकारी दिए । ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश तत्काल फिर्ता लिन र संसद् अधिवेशन तत्काल बोलाउन माग गर्ने र सरकारको अकर्मण्यताविरुद्ध संसद्मा सशक्त आवाज उठाउने विषयमा दुई दल एकै ठाउँमा छौं,’ उनले भने । जसपा नेता महतोले मिल्ने मुद्दामा सँगै आवाज उठाउने र नमिल्ने मुद्दामा छुट्टाछुट्टै भूमिका निर्वाह गर्ने कुरा भएको बताए । ‘कुन–कुन मुद्दामा सँगै जाने भनेर पछि गृहकार्य गर्नेछौं,’ उनले भने ।

दुवै दलका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओली एकदलीय तानाशाहको अभ्यास गर्ने बाटोमा अघि बढेकाले त्यसलाई रोक्न पनि विपक्षी मोर्चा सशक्त हुनुपर्नेमा साझा मत बनाएका थिए । छलफलमा जसपाका तर्फबाट कार्यकारी अध्यक्ष महन्थ ठाकुर, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र महतो सहभागी थिए । कांग्रेसबाट देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र रिजाल थिए । उनीहरूले संवैधानिक सीमा आउने बेलासम्म पनि संसद् अधिवेशन आह्वान नगरिएकोप्रति आपत्ति जनाएका छन् । संविधानले एउटा अधिवेशन र अर्को अधिवेशनको अन्तर ६ महिनाभन्दा बढी हुन नहुने व्यवस्था गरेको छ । गत असार १८ गते संसद् अधिवेशन अन्त्य भएकाले पुस १७ गते ६ महिना पुग्दैछ ।

कांग्रेस सभापति देउवाले शुक्रबार समाजिक सञ्जालमा व्यक्त गरेको धारणाप्रति पनि जसपाका नेताहरूले जिज्ञासा राखेका थिए । देउवाले आफ्नो पार्टीको २५ प्रतिशत सांसद संख्या नरहेको र अन्य विपक्षी दलले साथ नदिएकाले विशेष अधिवेशनका लागि समावेदन गर्न नसकिएको ट्वीट गरेका थिए । उनको संकेत जसपातिर थियो । सरकारले संसद्का पदाधिकारी र विपक्षीलाई जानकारी नगराई असार १८ गते संसद् अधिवेशन अन्त्य गराएको थियो । त्यसलगत्तै समावेदनमार्फत संसद् अधिवेशन बोलाउने विषयमा कांग्रेस र जसपाबीच एक दिन छलफल भएको थियो । ‘हामीले त मानेकै थियौं । कांग्रेसले अझै गृहकार्य गरौं भनेको हो, विशेष अधिवेशन बोलाउन हाम्रो असहमति कहीँकतै थिएन, कांग्रेस अग्रसर भएको भए हामी साथ दिन्थ्यौं,’ जसपा नेता महतोले भने, ‘एक दिन छलफल भएको थियो । त्यसपछि छलफल भएको मलाई थाहा छैन।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *