प्रचण्ड भेट्न खुमलटार पुगे ओली, नेपाल र गौतम पनि मिसिए

काठमाडौँ। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न खुमलटार पुगेका छन् । पार्टीभित्र देखिएको विवादका विषयमा छलफल गर्न ओली शनिबार ११ बजे प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।

अध्यक्षद्वयबीच करिब एक घण्टा भेटवार्ता भएको प्रचण्डको सचिवालयले बताएको छ । ओली १२ बजेपछि खुमलटारबाट बाहिरिएका छन् ।

सुरुमा दुई नेताबीच मात्रै भेटघाट हुने भनिएपनि  उपाध्यक्ष वामदेव गौतम र बरिष्ठ नेता माधवकुमार नेपाल पनि खुमलटार पुगेका थिए । प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटाले भने प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच एक्लाएक्लै छलफल भएको बताए ।

ओली खुमलटार पुगेको आधा घण्टापछि गौतम पनि पुगेका थिए । गौतम पुगेको आधा घण्टापछि बरिष्ठ नेता नेपाल पनि पुगेका थिए ।

नेकपामा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको कार्यशैलीलाई लिएर तिब्र विवाद छ । सरकार संचालनमा एकलौटी गरेको, पार्टीको निर्णयलाई चुनौती दिएको र पार्टीमा छलफल नै नगरी अध्यादेश ल्याएको भन्दै ओलीसंग अध्यक्ष प्रचण्डसहित सचिवालयका बहुमत सदस्य रुष्ट छन् ।

विवाद चर्किंदै जाँदा दुवै पक्षले गुटगत भेला र छलफललाई निरन्तरता दिइरहेका बेला विवाद समाधानका लागि विभिन्न पक्षबीच निरन्तर छलफल पनि भइरहेको छ । पार्टीभित्र विवाद चुलिँदै गएका बेला स्थायी कमिटी बैठकको अघिल्लो दिन अध्यक्षद्वयको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नेकपाको स्थायी कमिटी बैठक भोलि (आइतबार)का लागि बोलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *