नेकपा विवाद उत्कर्षमा : पेरिसडाँडामा प्रचण्ड-नेपाल समूहको भेला

काठमाडौं । आन्तरिक विवाद चुलिँदै जाँदा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा गुट भेलाले तिब्रता पाएका छन् । मदन भण्डारी फाउन्डेसनका नाममा प्रधानमन्त्री केपी ओली समूहले देशव्यापी गुट भेला गर्न थालेपछि अर्को समूहले पनि छुट्टै भेला गर्न थालेको हो ।

यसअघि बागमती प्रदेश कमिटी र विद्यार्थीहरूको भेला गरेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले शुक्रबार प्रदेश १ का अध्यक्ष र सचिवहरूको भेला बोलाएको छ ।

तत्कालीन माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा आयोजित भेलामा प्रदेश १ का प्रचण्ड-नेपाल निकट जिल्ला अध्यक्ष र सचिवहरु सहभागी छन् । भेलामा ओली पक्षीय नेताहरुलाई भने सहभागी गराइएको छैन । पार्टीमा देखिएको आन्तरिक विवादको बारेमा स्पष्ट पार्नका लागि छलफल गर्न लागिएको एक नेताले जानकारी दिए ।

भेलालाई अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल, झलनाथ खनाललगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको ति नेताले जनाकारी दिए ।

नेकपामा केही महिनायता आन्तरिक विवाद चर्किएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सरकार संचालनमा एकलौटी गरेको र गत स्थायी कमिटी बैठकको निर्णय उलंघन गरेको प्रचण्ड-नेपाल समूहको आरोप छ । विवाद समाधानका लागि प्रयास भैरहेकै बेला गत मंगलबार प्रधानमन्त्री ओलीले पार्टीमा छलफल नगरि संवैधानिक परिषद सम्बन्धि अध्यादेश ल्याएपछि विवाद उत्कर्षमा पुगेको छ ।

पार्टीको स्थायी कमिटी बैठक जारी रहेकै बेला पार्टीका शीर्ष नेताहरुलाई समेत जानकारी नदिई प्रधानमन्त्री ओलीले अप्रत्यासित ढंगले अध्यादेश ल्याएपछि नेकपमा तिब्र विरोध भएको थियो । पार्टीभित्र र बाहिर चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता गर्ने बताएका थिए । यद्यपि अहिलेसम्म अध्यादेश फिर्ता भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *