सुरक्षित वैदेशिक रोजगारीका लागि आप्रवास स्रोत केन्द्र

काठमाडौँ। चितवनमा सुरक्षित वैदेशिक रोजगारीका लागि आप्रवास स्रोत केन्द्र सुरु भएको छ। जिल्ला प्रशासन कार्यालयमा केन्द्रको उद्घाटन गरिएको छ । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका अवसरमा आज स्रोत केन्द्रको उद्घाटन गरिएको हो ।

महानगरपालिकाका प्रमुख रेनु दाहालले वैदेशिक रोजगारीमा गएर नेपाली अलपत्र पर्ने अवस्था रहेकाले यसलाई न्यूनीकरणका लागि स्रोत केन्द्र महत्वपूर्ण हुने बताइन् । वैदेशिक रोजगारीमा गएर बेवारिसे बन्न पुगेकालाई यसले सहयोग गर्ने उनको भनाइ छ ।

विदेशमा जान लागेका र गएर फर्किएकालाई यस केन्द्रले मनोवैज्ञानिक परामर्श दिएर स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्न सहयोग पुग्ने प्रमुख दाहालले बताइन् । सो अवसरमा उनले महानगरले विदेशबाट स्वदेश फर्किएकाको लागि ‘विदेशको सीप स्वदेशको कार्यक्रम’ सञ्चालन गर्ने तयारीमा गरिरहेको जानकारी दिइन् । यस कार्यक्रमअन्तर्गत पाँच लाखसम्म ऋण लिएर व्यवसाय गर्नेका लागि सम्पूर्ण ब्याज र २५ लाखसम्म ऋण लिनका लागि दुई प्रतिशत ब्याज महानगरले ब्यहोर्ने उनले जानकारी दिइन् ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जिल्लाबाट दैनिक ५० जनाले राहदानी बनाउने गरेको जानकारी दिए । अहिलेका समयमा वैदेशिक रोजगारीमा जानेका लागि मनोवैज्ञानिक परामर्श महत्वपूर्ण पाटो रहेको उनको भनाइ थियो ।

सुरक्षित आप्रवास परियोजनाअन्तर्गत जिल्लामा केन्द्रले चार स्थानीय तहमा काम गरिरहेको छ । भरतपुर महानगरपालिका, रत्ननगर र माडी नगरपालिका तथा इच्छाकामना गाउँपालिकामा कार्यक्रम सञ्चालन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *