भोजपुर। भोजपुरमा पहिलोपटक भुवादार जापानी तीतेपातीको व्यावसायिक खेतीको शुरुआत गरिएको छ । थोरै लगानीमा आम्दानी लिन सकिने तथा प्रयोगविहीन जमिनलाई सदुयोग गर्ने लक्ष्यका साथ यसको खेती शुरुआत गरिएको हो ।
अरुण गाउँपालिका–४ चरम्वी र्याङका दुई युवा मिलेर तीतेपातीको व्यावसायिक खेती शुरु गरेका हुन् । छोटो समयमा उत्पादन हुने तथा विभिन्न जडीबुटीका लागि बजार मागसमेत राम्रो भएकाले यो खेतीको शुरुआत गरेको उनीहरुले बताएका छन् । उनीहरुले सङ्खुवासभाबाट विरुवा ल्याएर करिब दुई रोपनी क्षेत्रफलमा करिब आठ हजार तीतेपातीको खेती शुरु गरेका हुन् ।
अहिले दुई रोपनी क्षेत्रफलमा परीक्षणको रूपमा लगाएको र राज्यको तर्फबाट आवश्यक आर्थिक तथा प्राविधिक सहयोग भएमा थप ६० रोपनी क्षेत्रफलमा विस्तार गर्ने योजना रहेको कृषक झिलबहादुर राईले जानकारी दिए । तीतेपातीलाई प्रत्येक १५ देखि २० दिनमा सङ्कलन गर्न सकिने कृषक राईले बताए । कच्चा पदार्थको रूपमा यसको सुकेको पात तथा डाँठ प्रतिकेजी रु ५० मा बिक्री हुने उनको भनाइ छ । कृषक राईले भने, “हामीले गत भदौ महिनाबाट व्यावसायिक खेती शुरु गरेका छौँ, हामीले आठ हजार बिरुवा लगाएका छौँ, कच्चा पदार्थ प्रतिकेजी रु ५० देखि ६० सम्ममा बिक्री हुन्छ ।”
डिभिजन वन कार्यालय भोजपुरले जिल्लामा यसको विस्तारका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । बाँदरलगायत अन्य वन्यजन्तुको कारण स्थानीय बसाइँ सर्दा धेरै जमिन बाँझिदै गएकाले तीतेपाती खेतीलाई विस्तार गर्न सके स्थानीयवासीको आर्थिक विकासमा टेवा पुग्ने कार्यालयको भनाइ छ ।
यसको सम्भावनाको विषयमा थप अध्ययन, अनुसन्धान गर्ने र राम्रो हुने देखिएमा पकेट क्षेत्र बनाएर वैकल्पिक खेतीको रूपमा जिल्लाका अन्य स्थानमा समेत विस्तार गर्ने डिभिजन वन कार्यालय भोजपुरका प्रमुख विष्णुलाल घिमिरेले बताए ।
धेरै मानिसहरु अन्यत्र जाँदा खेतीयोग्य जमिन बाँझिदै गएकाले यसको विस्तारमा सहयोग गर्ने वडा कार्यालयले जनाएको छ । तीतेपाती खेतीलाई राम्रो ढङ्गले आयआर्जनमा जोड्न सके बाँझो जमिनसमेत प्रयोगमा आउने कार्यालयको भनाइ छ ।
तीतेपातीलाई बाँदरले समेत क्षति नगर्ने तथा आम्दानी लिन सकिने भएपछि वैकल्पिक खेतीको रुपमा विस्तार गर्न सके यसले स्थानीयवासीसँगै राज्यलाई समेत टेवा पुग्ने स्थानीय जानकारहरुले बताउने गरेका छन् ।