काठमाडौँ। मालपोत कार्यालय पर्वतमा एक सेवाग्राहीले तोडफोड गरेका छन् । जग्गा राजीनामा पास गर्न आएकाएक सेवाग्राहीले आफ्नो काम किन ढिला भएको भन्दै एक्कासि कार्यालयभित्र प्रवेश गरी विभिन्न सामग्री तोडफोड गर्नुका साथै कागजात च्यातेका हुन्।
कार्यालय प्रमुख मुकुन्द लामिछानेका अनुसार पर्वत जिल्लाको जलजला गाउँपालिका–३ साविक माझफाँटका ३० वर्षीय सुमनबहादुर खत्रीले कार्यालयमा काम भइरहेका बेला आफ्नो काम किन ढिला भएको भन्दै कर्मचारीलाई समेत गाली गर्दै एक्कासि तोडफोड गरेका थिए ।
कार्यालयका विभिन्न कक्षमा प्रवेश गरी तोडफोड गरेको खबरपछि उनलाई जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको छ । मालपोत कार्यालयभित्र प्रवेश गरी तोडफोड गरेको सूचनाका आधारमा नियन्त्रणमा लिएको प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिए ।
कार्यालयभित्र हुने काम भइरहेका बेला आवेगमा आएका उनले कार्यालयको कम्प्युटर, हाजिरी मेसिन, ल्याप्चे मेसिन, फोटोकपी मेसिन, फोटो खिच्ने मेसिनलगायत महत्वपूर्ण कागजातमा क्षति पुर्याएको कार्यालय प्रमुख लामिछानेले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको र कार्यालयमा भएको क्षतिका बारेमा समेत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।