सरकारलाई संसदीय समितिको निर्देशन : एक साताभित्र उखु किसानको बक्यौता रकम भुक्तानी गर्नू

काठमाडौँ। संसदीय समितिले एक साताभित्र उखु किसानको बक्यौता रकम भुक्तानी गर्न सरकारलाई निर्देशन दिएको छ ।

आज बसेको प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई रकम भुक्तानीका लागि निर्देशन दिएको हो । समितिका सभापति विमलप्रसाद श्रीवास्तव उखुको रकम भुक्तानी नदिएको भन्दै किसान आन्दोलित बनेपछि समितिले एक साताभित्र भुक्तानी सकेर प्रतिवेदन पेश गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिइएको बताए ।

“गत वर्ष पनि किसान विभिन्न उद्योगले रकम नदिएको भन्दै आन्दोलन गर्न काठमाडौँ आउनुभएको थियो, एक वर्ष अगाडि भएको सहमतिअनुसार अझै भुक्तानी नभएपछि हामीले भुक्तानी गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिएका हौँ”, उनले भने, “उखु किसानको समस्या अहिले नै समाधान हुन्छ, उखुको रकम भुक्तानी नपाएको भन्दै अर्को वर्ष आन्दोलन गर्नुपर्ने अवस्था आउँदैन ।”

समितिले ११ वटै चिनी उद्योगमा कार्यरत श्रमिकको अवस्थाका बारेमा स्थलगतरुपमा अध्ययन गरेर १५ दिनभित्र प्रतिवेदन पेश गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।

लामो समयदेखि केही चिनी उद्योग बन्द भएका र अन्य उद्योगले समेत श्रमिकलाई बेवास्ता गर्ने गरेको सूचना समितिमा आएको भन्दै स्थलगतरुपमा अध्ययन गरेर समस्या समाधानको व्यवस्था मिलाई विवरण उपलब्ध गराउन श्रम मन्त्रालयलाई निर्देशन दिइएको सभापति श्रीवास्तवले जनकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *