सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली हट्यो

काठमाडौं । काठमाडौं उपत्यकामा यातायात क्षेत्रमा लगाइदै आएको जोर-बिजोर प्रणाली हट्ने भएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको यातायात व्यवसायी र प्रशासनबिचको बैठकले शुक्रबारदेखि सार्वजनिक सवारीमा कायम जोर-बिजोर प्रणाली अन्त्य गर्ने सहमति गरेको हो ।

बैठकमा प्रशासनका अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, यातायात व्यवस्था विभागका प्रतिनिधि तथा यातायात व्यवसायी तथा यातायात मजदुरका प्रतिनिधिको सहभागिता थियो । सो बैठकले गत साउन २१ गतेदेखि लाग्दै आएको जोरबिजोर प्रणाली हटाउने सहमति गरेको हो ।

जोरबिजोर हटाउने सहमतिसँगै भोलिबाट सबै सार्वजनिक तथा निजी सवारी सडकमा गुड्न पाउनेछन् ।

कोरोना महामारीपछि काठमाडौंका सडकमा घटेको सवारी चाप दिनदिनै बढ्दो दरमा छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित विभिन्न यातायात मजदुर संगठनले शुक्रबारबाट जोरबिजार प्रणाली उल्लंघन गरेर सवारी चलाउने घोषणा यसअघि नै गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *