प्रचण्ड-नेपाल सामु गले ओली, अध्यादेश फिर्ता लिएर बैठकमा उपस्थित

काठमाडौँ। कुनैपनि हालतमा पार्टी स्थायी कमिटी बैठकमा नजाने अड्डी कसेर बसेका प्रधानमन्त्री ओली अन्तत: बैठकमा सहभागी भएका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयका बहुमत सदस्यको सहमतिमा ल्याएको राजनीतिक प्रस्तावलाई ‘लाञ्छना पत्र’को संज्ञा दिँदै उक्त प्रस्तावमाथि पार्टीमा छलफल हुनै नसक्ने अडान लिएका ओली स्थायी कमिटीका अघिल्ला दुई बैठकमा सहभागी भएका थिएनन् ।

प्रचण्डले प्रस्तुत गरेको प्रस्ताव फिर्ताको एकमात्र सर्त बनाएर बैठक छल्दै आएका ओली अन्तत: बैठकमा जान राजी भएका हुन् । ओली र प्रचण्डले प्रस्तुत गरेको फरक-फरक राजनीतिक प्रस्तावका कारण केही महिनायता आन्तरिक किचलोमा फसेको नेकपा मंगलबार प्रधानमन्त्री ओलीले एकाएक अध्यादेश ल्याएपछि थप विवादमा फसेको छ ।

अध्यादेशलाई लिएर पार्टीको बैठकमा तिब्र आलोचना हुने बुझेका प्रधानमन्त्री ओली बैठकमा सहभागी नहुने अडानमै थिए। तर उनी पक्षधर नेताहरुले अध्यादेश फिर्ता लिएर परिस्थितिलाई सहज बनाउँदै बैठकमा जान सुझाव दिएपछि उनी गलेका हुन्।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सुर्य थापाले पनि ओली बैठकमा सहभागी भएको बताएका छन्।

बैठक बुधबार दिउँसो १ बजे सुरु हुने भनिएपनि पार्टीका दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल वन टु वन छलफलमा जुटेका थिए। दुई नेताबीच छलफल सकिएपछि निर्धारित समयभन्दा करिब तीन घण्टा ढिलो स्थायी समिती बैठक सुरु भएको हो ।

स्थायी कमिटी बैठकमा अल्पमतमा रहेका ओलीले यसअघि विभिन्न बाहानामा बैठक छल्दै आएका थिए । तर यसपटक भने आफूनिकट नेताहरुले नै अध्यादेश फिर्ता लिएर पार्टीको बैठकमा सहभागी हुन सुझ्याएपछि उनी गलेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *