अध्यादेश खारेजीको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं। सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश २०७७ खारेजीको गर्न माग गर्दै सर्वोच्‍च अदालतमा रिट दायर भएको छ ।

सरकारले संविधान विपरित अध्यादेश ल्याएको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले रिट दायर गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मन्त्रीहरुलाई समेत थाहा नदिइ मन्त्रिपरिषद्बाट अध्यादेश पारित गरेका थिए भने हिजै राष्ट्रपति भण्डारीले प्रमाणिकरण गरेर जारी गरेकी थिइन् ।

अध्यादेशमा अध्यक्षसहित तत्काल बाहाल रहेका बहुमत सदस्य उपस्थित भएमा परिषद्को गणपूरक संख्या मानिने व्यवस्था गरिएको छ ।अध्यादेशलाई लिएर सत्तारुढ दलमै असन्तुष्टि देखिएको छ। प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस लगायतका दलहरुले पनि अध्यादेश ल्याउने प्रधानमन्त्रीको कदमको विरोध गर्दै फिर्ता लिन माग गरेका छन्।

अध्यादेशलाई लिएर चौतर्फी बिरोध भैरहेका बेला यसको खारेजीको माग गर्दै सर्वोच्चमा रिट परेको हो। नेपाली नागरिकले उक्त अध्यादेशको कानुनी व्यवस्थाको अध्ययन गर्न सूचनासमेत नपाएको एवं सो प्रयोजनका कुनै सूचनासमेत उपलब्ध नगराइ अध्यादेश जारी भएलगत्तै हतारहतारमा संवैधानिक परिषदको बैठक बोलाइएको रिट निवेदनमा उल्लेख गरिएको छ ।

अध्यादेशले संवैधानिक मूल्यमान्यतामा व्यापक मात्रामा क्षति पुग्ने दावी निवेदनमा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *