अध्यादेशलाई लिएर नेकपाका शीर्ष नेता छलफलमा, ठोस अडान लिने तयारी

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा असन्तुष्टि देखिएको छ । अध्यादेश जारी भएलगत्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष पाँच नेता छलफलमा जुटेका छन् ।

अध्यक्ष प्रचण्ड निवास खुमलटारमा सचिवालयका असन्तुष्ट पाँच नेता छलफलमा जुटेका हुन् । छलफलमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन् ।

स्रोतका अनुसार अध्यादेशबारे ठोस अडान लिने नेताहरुको तयारी छ । संसद अधिवेशनको माग भैरहेका बेला अध्यादेश ल्याउनु गैरलोकतन्त्रिक कदम भएको भन्दै छलफलले बिना सर्त तत्काल अध्यादेश फिर्ता हुनुपर्ने निष्कर्ष निकालेको स्रोतको भनाइ छ ।

यसअघि सार्वजनिक प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले संवैधानिक परिषद् सम्बन्धी संशोधन अध्यादेश तत्काल खारेज गर्न माग गरेका थिए । उक्त अध्यादेशलाई संविधानको मूल्य मान्यता र भावनाविपरित भएको भन्दै उनले तत्काल फिर्ता गर्नुपर्ने बताएका थिए ।

अध्यादेशलाई लिएर प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेसले मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधिानिक परिषद्को बैठकमा सहभागी नहुने घोषणा गरिसकेको छ । यसअघि मंगलबार बिहान भएको परिषद्को बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी भएका थिए ।

मंगलबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर प्रधानमन्त्री ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेका हुन् । सिफारिस भए लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी भएपछि नेकपाका असन्तुष्ट नेता र प्रमुख प्रतिपक्षी दलले असन्तुष्टि जनाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *