काठमाडौँ। संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले मंगलबार बोलाएको संवैधानिक परिषदको बैठक सभामुख अग्नि सापकोटा नगएपछि रोकिएको छ ।
प्रधानमन्त्री ओलीले एकलौटी रुपमा आफूनिकट व्यक्तिहरुलाई नियुक्त गर्ने तयारी गरेपछि असन्तुष्ट रहेका सभामुख सापकोटा परिषदको बैठकमा नगएका हुन् ।
सभामुखको सचिवालय स्रोतका अनुसार संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले बैठकका लागि आवश्यक गृहकार्य,समन्वय र सल्लाह नगरेकाले सभामुख सापकोटा बैठकमा नगएका हुन् ।
‘प्रधानमन्त्री ओलीले एकलौटी रूपमा आफूनिकटका व्यक्तिहरूलाई नियुक्तिका लागि सिफारिसको तयारी गरेपछि साक्षी बस्नैका लागि उहाँ नजानुभएको हो’, उक्त स्रोतले भन्यो ।
परिषदको बैठकका एजेण्डाहरु ४८ घण्टाअघि नै सदस्यहरुलाई उपलब्ध गराइनुपर्ने व्यवस्था भए पनि प्रधानमन्त्रीले त्यसो नगरी बैठक बोलाएको बताइएको छ ।
विभिन्न संवैधानिक आयोगहरुमा रिक्त रहेका ४५ पदाधिकारीको नियक्तिका लागि प्रधानमन्त्री ओलीले परिषदको बैठक बोलाउँदै आए पनि बस्न सकेको छैन ।
यसअघि आइतबार पनि सभामुख सापकोटा र प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवा नजाँदा कोरम नपुगेर बैठक बस्न सकेको थिएन। परिषदको बैठकमा कोरम पुग्नका लागि प्रधानमन्त्रीबाहेक ४ जना सदस्यको उपस्थिति अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्था छ। अहिले ४ जना सदस्यमात्र रहेकाले कोही एकजना उपस्थित नहुँदा पनि बैठक बस्न सक्दैन ।