काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद् बैठकमा सभामुख अग्निप्रसाद सापकोटा उपस्थित भएका छैनन् । प्रधानमन्त्री ओलीले एकलौटी रुपमा आफूनिकट व्यक्तिहरुलाई नियुक्त गर्ने तयारी गरेपछि मंगलबार बोलाइएको परिषद्को बैठकमा सभामुख सहभागी नभएका हुन्।
सभामुखको सचिवालय स्रोतका अनुसार संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले बैठकका लागि आवश्यक गृहकार्य,समन्वय र सल्लाह नगरेकाले सभामुख सापकोटा बैठकमा नगएका हुन् ।
‘प्रधानमन्त्री ओलीले एकलौटी रूपमा आफूनिकटका व्यक्तिहरूलाई नियुक्तिका लागि सिफारिसको तयारी गरेपछि साक्षी बस्नैका लागि उहाँ नजानुभएको हो’, उक्त स्रोतले भन्यो ।
यसअघि सभामुख सापकोटा र प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवा नजाँदा कोरम नपुगेर बैठक बस्न सकेको थिएन ।
प्रधानन्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्न प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र प्रतिनिधिसभाको उपसभामुख सदस्य रहेको संवैधानिक परिषद् रहने संवैधानिक व्यवस्था छ।