पाठ्यक्रम सक्न अतिरिक्त कक्षा 

गलकोट। बागलुङको बरेङ गाउँपालिकाले विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन गर्ने भएको छ । कोभिड–१९ का कारण चार महिनादेखि अवरुद्ध बनेको पठनपाठनलाई पूर्णता दिन अतिरिक्त कक्षा सञ्चालन गर्न थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले जानकारी दिए ।

कोरोनाले शैक्षिक गतिविधिमा नोक्सान भएका कारण यसको परिपूर्तिका लागि अतिरिक्त कक्षा लिन थालिएको हो । पाठ्यक्रमले निर्दिष्ट गरेको सिकाइ उपलब्धिलाई प्रभावकारी बनाउन र पाठ्यक्रम समयमै सक्नका लागि गाउँपालिकाले अतिरिक्त कक्षा सञ्चालन गर्न थालेको उनको भनाइ छ । सरकारले शैक्षिक सत्र सकाउनका निम्ति निर्देशन दिएपछि समयमै पाठ्यक्रम नसक्किने भएकाले विद्यार्थीको उच्च मनोबल बनाउन र सिकाइ बढवा दिन कक्षा शुरु गरिने गाउँपालिकाले जनाएको छ ।

पुस १ देखि कक्षा ८, ९ र १० का विद्यार्थीका लागि कक्षा सञ्चालन गरिने गाउँपालिकाका शिक्षा शाखा अधिकृत सूर्यप्रसाद शर्माले बताए । शर्माले चार महिना पढाइ रोकिएका कारण पाठ्यक्रम नसकिने भएपछि गाउँपालिकाले बजेट विनियोजन गरेर कक्षा सञ्चालनको थालनी गरेको जानकारी दिए । अतिरिक्त कक्षा सञ्चालनका लागि गाउँपालिकाले रु तीन लाख ५० हजार छुट्याएको छ । उक्त रकमबाट शिक्षकलाई अतिरिक्त कक्षा लिएबापत प्रदान गरिनेछ ।

अतिरिक्त कक्षाले कमजोर विद्यार्थीलाई थप उत्प्रेरणा मिल्ने र पाठ्यक्रम समयमै सकिने उनको भनाइ छ । गाउँपालिकाका शिक्षा शाखा अधिकृत शर्माका अनुसार बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म नियमित कक्षा सञ्चालन हुनेछ भने बिहान एक घण्टा र बेलुका एक घण्टा अतिरिक्त कक्षा लिइनेछ ।

अतिरिक्त कक्षाको विषय विद्यालयको शिक्षकको बैठकले छनोट गर्नेछ । गाउँपालिकाले थप गरेको अतिरिक्त कक्षाको बजेटले अपुग भएमा विद्यालय व्यवस्थापन समितिले आयस्रोत जुटाउनुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *