बस्न्यात पुर्पक्षका लागि थुनामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश दिएको छ । ललिता निवासको सरकारी जग्गा प्रकरणमा मुछिएका बस्न्यातलाई थुनछेक बहसपछि बिशेष अदालतले आइतबार थुनामा पठाउने आदेश दिएको हो।

विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले आइतबार बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको विशेष अदालतमा प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए।

अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातसँग लिएको बयानपछि अदालतले उक्त आदेश जारी गरेको हो । उनलाई डिल्लीबजार कारागार पठाइएको छ ।बस्न्यातका वकिलहरूले धरौटी तारेखमा राख्न गरेको याचनालाई अदालतले अस्वीकार गरेको हो। अख्तियारका वकिलले बस्न्यातको जग्गा किर्ते प्रकरणमा प्रत्यक्ष संलग्नता देखिएको जिकिरसहित थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउनुपर्ने माग गरेका थिए।

अख्तियारले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा पूर्व उपप्रधानमन्त्री विजय गच्छेदार सहित तत्कालिन तीन मन्त्री र तीन सचिवसहित ११० जनाविरुद्ध २०७६ माघ २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

२०६६ भाद्रदेखि २०६७ फाल्गुनसम्म भौतिक योजना तथा निर्माण मन्त्रालयमा सचिव रहेका बस्नेतले ललिता निवासको जग्गालाई वालुवाटारस्थित प्रधानमन्त्री निवास विस्तारका लागि प्रस्ताव लगेका थिए। उनलाई तत्कालीन भौतिक योजना मन्त्रालयको सचिव रहँदा निर्णयकर्ताको हैसियतमा मुद्दा दायर गरिएको हो।

अख्तियारकै पूर्वप्रमुख आयुक्त, भूमिसुधार तथा मालपोतका कर्मचारी, जग्गा खरिद बिक्री गर्ने विरुद्ध पनि मुद्दा दायर गरिएको थियो । त्यसमध्ये भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसमेत रहेका थिए ।

गत फागुनमै अदालतमा उपस्थिति हुन अदालतले भनेता पनि कोरोनाको महाकारीका कारण गरिएको बन्दाबन्दीले सरेको थियो ।

पूर्वमन्त्रीहरुमा डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र छविराज पन्त तथा पूर्वसचिव दिनेशहरि अधिकारी उपस्थित भई जोशीबाहेक अन्य जनही रु पाँच लाख धरौटीमा छुट्ने आदेश भएको थियो । अदालतले जोशीलाई भने साधारण तारेखमा रिहा गर्ने आदेश गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *