एचआइभी सङ्क्रमित ७९९ जना एआरटी सेवन गर्दै 

काठमाडौँ । डोटीमा ७९९ एचआइभी सङ्क्रमितले नियमितरूपमा एआरटी औषधि सेवन गर्न थालेका छन् । हालसम्म जिल्लामा कूल ९९४ सङ्क्रमित देखिएकामा अहिले नियमितरूपमा ७९९ जनाले एआरटी सेवन गरिरहेको पाइएको छ । जिल्लामा विगतका वर्षहरुमा एचआइभी सङ्क्रमित आफू सङ्क्रमित भए पनि रोग लुकाएर बस्ने गरेकामा अहिले भने खुल्न थालेको बताइएको छ ।

डोटीमा पछिल्लो समय सङ्क्रमितको सङ्ख्या बर्सेनि घट्न थालेको पाइएको छ । पछिल्लो चार वर्षको तथ्याङ्क हेर्ने हो भने सङ्क्रमित घट्न थालेको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले गरेको अध्ययनअनुसार डोटीमा पत्ता लागेका एचआइभी सङ्क्रमितमा कामका लागि भारत गएर फर्केका र उनीहरुका कारण घरमा श्रीमतीमा पनि एचआइभी देखिने गरेको पाइएको छ ।

एआरटी सेवनका कारण आफूलाई निकै सहज भएको डोटीका सङ्क्रमित बताउँछन् । आर्थिक वर्ष २०७३/७४ मा ४०, २०७४/७५ मा ३५ र २०७५/७६ मा २९ जना एचआइभी सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिए ।

“अर्थाभावका कारण सङ्क्रमितको दैनिक जीवनयापनमा समस्या परिरहेको भए पनि उनीहरुको उपचारमा उल्लेख्य प्रगति भएका कारण सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ”, उनले भने।

एचआइभी सङ्क्रमित बढी हुने क्षेत्रमा सुदूरपश्चिम प्रदेशको डोटी तेस्रो जिल्ला हो । पहिलो कैलाली तथा दोस्रो जिल्लाका रूपमा अछाम पर्दै आएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार एचआइभीका कारण जिल्लामा १७२ जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *