बादललाई मन्त्रीबाट हटाउन होइन उपप्रधानमन्त्री बनाउन चाहेको हूँ : प्रचण्ड

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापालाई आफूले गृहमन्त्रीबाट हटाउन दवाव नदिएको बताएका छन् ।प्रचण्डले बरु उनलाई उपप्रधानमन्त्री बनाउन भनेको दावी गरेका छन् ।

ओलीले कात्तिक २५ मा पठाएको १० पन्ने पत्रको जवाफ दिँदै प्रचण्डले गृहमन्त्री बादललाई आफूले हटाउन खोजेको भन्ने ओलीको भनाइको खण्डन गरेका हुन् । ओलीलाई चुनौति दिँदै उनले प्रश्न गरेका छन्, ‘म तपाईलाई गम्भीरतापूर्वक चुनौति दिन चाहन्छु मैले कहाँ र कहिले मन्त्रीमण्डलको पुनर्गठनको सन्दर्भमा उपप्रधानमन्त्री कमरेड ईश्वर पोख्रेल र गृहमन्त्री कमरेड रामबहादुर थापाको निरन्तरतामा असहमति जनाएँ ?’

आफूले मन्त्रिपरिषद पुनर्गठन गरेर जानु राम्रो हुने मत राखेको तर बादललाई हटाउन नखोजेको प्रचण्डको भनाइ छ ।  ‘मन्त्रीमण्डलको व्यापक पुनर्गठन गरेर जाँदा राम्रो हुने मत राख्दै आएको छु तर, त्यसो भनिरहँदा मैले सधैं नै तपाईंले आवश्यक ठानेका जिम्मेवार कमरेडहरुलाई भने निरन्तरता दिन उपयुक्त हुन्छ पनि भन्दै आएको छु । अझ तपाईंसँग धेरैपटक मुख्यरुपमा कमरेड ईश्वर पोख्रेल, कमरेड रामबहादुर थापा र कमरेड प्रदीप ज्ञवालीका हकमा निरन्तरता दिनु
पर्दछ भन्दै आएको हो ।’

प्रचण्डले बादललाई गृहमन्त्रीबाट हटाउन खोजेको भन्ने प्रचार भैरहेका बेला गत सालदेखि नै बादललाई उपप्रधानमन्त्री बनाउनुपर्छ भन्ने बिचार राख्दै आएको प्रचण्डले दाबी गरेका छन् । ‘कमरेड रामबहादुर थापाको हकमा तपाईंसँग गत सालदेखि नै उपप्रधानमन्त्री बनाउनु पर्दछ भन्ने बिचार राख्दै आएको सन्दर्भमा तथ्यको र यति भयानक झुटको पर्दाले छोप्ने तपाईको नियतलाई अब मैले के बुझ्ने कमरेड ?’ प्रचण्डले पत्रमा लेखेका छन्, ‘ अति गर्नु, अतिचार नगर्नु भन्छन् यो देख्दा त मलाई नि भन्न मन लागेको छ, “एनअफ इज एनअफ” ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *