ओलीलाई प्रचण्डको जवाफ : हजारौँ तर्क भन्दा एउटै तथ्य शक्तिशाली हुन्छ कमरेड !

काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीकै कारण पार्टी संकटमा परेको दाबी गरेका छन्।

प्रधानमन्त्री ओलीलाई जवाफी पत्र लेख्दै अध्यक्ष प्रचण्डले ओलीको पत्रलाई झूटको पुलिन्दाको संज्ञा पनि दिएका छन्।ओलीले कात्तिक २५ मा पठाएको १० पन्ने पत्रको जवाफमा ७ पन्ने जवाफी पत्र लेख्दै प्रचण्डले प्रधानमन्त्रीले दिउँसै रात पार्ने जाली एवं झुट कुरा गरेको बताएका छन् ।

प्रचण्डले पत्रमा लेखेका छन्– ‘समग्र पत्रको अध्ययन गर्दा र त्यसमा अभिव्यक्त मत, भावना र आशय हेर्दा मैले दुःखका साथ भन्नुपर्दछ कि यो चिप्ला र गुलिया शब्दजालभित्र प्रस्तुत गरिएको झूटको पुलिन्दा हो । अनुभूतिको तहमा मैले यसलाई “विष कुम्भम् पयो मुखम्” का रूपमा महशुस गरेँ ।’

मन्त्रिपरिषद पुनर्गठन र राजदूतहरुको नियुक्ति प्रचण्डसँग सल्लाह गरेरै गरिएको भन्ने प्रधानमन्त्रीको भनाइमा आपत्ति जनाउँदै प्रचण्डले ओलीलाई लेखेको जवाफमा भनेका छन्, ‘सबै कुरालाई सल्लाहले गरेको हुँ भन्नु यो त दिउँसै रात पार्ने जाली कुरा भएन र कमरेड ?’

आफूले ईश्वर पोखरेल र रामबहादुर थापा बादललाई मन्त्रीबाट हटाउनुपर्छ नभनेको, बरु बादललाई उपप्रधानमन्त्री बनाउने प्रस्ताव राखेको र प्रदीप ज्ञवालीलाई पनि नहटाउन भनेको प्रचण्डको पत्रमा उल्लेख छ ।

पत्रमा भनिएको छ, ‘पार्टी अध्यक्ष र प्रधानमन्त्री जस्तो गहन जिम्मेवारीमा रहेका तपाईं कमरेडबाट तथ्यहरुको यतिधेरै तोडमरोड र यति तल उत्रिएर झूटको खेती गर्न सक्नुहुँदोरहेछ भन्ने कुराले मलाई निकै आश्चर्यकित र चिन्तित तुल्याएको छ । हजारौं तर्क भन्दा एउटै तथ्य शक्तिशाली हुन्छ कमरेड । म तपाईलाई गम्भीरतापूर्वक चुनौति दिन चाहन्छु मैले कहाँ र कहिले मन्त्रीम डलको पुनर्गठनको सन्दर्भमा उपप्रधानमन्त्री कमरेड ईश्वर पोख्रेल र गृहमन्त्री कमरेड रामबहादुर थापाको निरन्तरतामा असहमति जनाएँ ?

सचिवालयका सदस्यहरुलाई वितरण गरिएको पत्रमा भनिएको छ, मैले दुःखका साथ भन्नुपर्छ कि यो चिप्ला र गुलिया शब्दजालभित्र प्रस्तुत गरिएको झूठको पुलिन्दा हो ।

प्रचन्डले आफू पार्टी एकताको रक्षा हुनुपर्दछ भन्ने कुरामा म आज पनि उत्तिकै दृढ रहेको बताएका छन्। ‘मैले खुला र स्पष्ट वैचारिक, राजनैतिक छलफलको तपाईंको प्रस्तावलाई स्वागत गर्नुको अर्थ पार्टी एकतालाई सदृढ गर्ने नयाँ आधारको खोजी गर्नु नै हो’, उनले भनेका छन्, ‘आवेगमा आएर पार्टी एकता, संविधान र परिवर्तनको प्रक्रियालाई अवरुद्द गर्ने कुनै काम तपाईंबाट हुनेछैन भन्ने आशा र विश्वास व्यक्त गर्दछु ।’

प्रचण्डले अगाडि भनेका छन्, ‘नयाँ आधारमा नयाँ एकता कायम गर्दै देश, जनता, पार्टी र आन्दोलनलाई नयाँ
उचाई तिर लैजानु छ । एकता–संघर्ष–रुपान्तरण र नयाँ आधारमा नयाँ एकताका लागि कमरेडले थोरै मात्र आत्मसमिक्षा, आत्मालोचना र त्यागको स्पिरिट देखाउनु भयो भने त्यो ठूलो कुरा हुनेछ । मेरो विचारमा यो सबैका
निमित्त थोरै त्याग गर्ने पालो तपाईंको छ । यत्ति भएमा तपाईले पत्रको अन्तिममा भने झैं म सजिलै फर्किने छु।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *