नेकपा विवाद : बैठकका लागि ओली तयार, शुक्रबारका लागि बैठक बोलाइयो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुक्रबार बस्ने भएको छ । बैठक शुक्रबार दिउँसो चार बजेका लागि बोलाइएको हो ।

महासचिव विष्णु पौडेलले दुवै अध्यक्षसँगको परामर्शमा बैठक बोलाएका हुन् । उनले बैठकबारे सचिवालय सदस्यहरुलाई जानकारी गराइसकेको एक नेताले जानकारी दिए ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव पौडेललाई सचिवालय बैठकको मिति तय गर्ने जिम्मा दिएका थिए ।सोही आधारमा महासचिव पौडेलले दुवै अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डसँग हिजो बेलुका र आज बिहान परामर्श गरेका थिए ।

यसअघि बहुमत सचिवालय सदस्यले आज (बिहीबार) का लागि बैठक बोलाएका थिए । मंगलबार अध्यक्ष प्रचण्डसहित ५ जना सचिवालय सदस्यहरुको अनौपचारिक छलफलले बिहीबार बैठक बस्ने निर्णय गरेको थियो ।

नेकपामा पछिल्लो समय प्रधानमन्त्री ओलीको कार्यशैलीलाई लिएर तिब्र असन्तुष्टि छ । प्रधानमन्त्री ओलीले गत स्थायी कमिटी बैठकको निर्णय उलंघन गरेको भन्दै सचिवालयका बहुमत सदस्यहरुले लिखित रुपमा बैठकको माग गरिसकेका छन् । तर ओली भने बैठकका लागि तयार थिएनन्।

ओली कुनै पनि हालतमा बैठक बोलाउन तयार नभएपछि अध्यक्ष प्रचण्डसहितका बहुमत सदस्यहरु बिहीबार बैठक बस्ने तयारी थियो । बैठक बोलाउने विषयलाई लिएर दुवै पक्षबीच तनाब बढ्दै जाँदा नेकपा विभाजनको डिलमा पुगेको चर्चा भैरहेका बेला शुक्रबार सहमतिमै बैठक बस्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *