कतारका राजकुमारले गरे अमादब्लमको आरोहण  

काठमाडौँ। कतारका राजकुमार शेख मोहम्मद विल अब्दुल्लाले छ हजार ८१४ मिटर अग्लो अमादब्लम हिमालको सफल आरोहण गरेका छन् ।

राजकुमार शेख मोहम्मदसहित १३ सदस्यीय टोलीले बुधबार बिहान ११ः२० बजे आमादब्लमको चुचुरोमा पुगेको पर्यटन विभागले जनाएको छ ।

विभागको पर्वतारोहण शाखाका प्रमुखसमेत रहेकी निर्देशक मीरा आचार्यले शेख मोहम्मदसहितको टोलीले अमादब्लमको आरोहण गरेको पुष्टि गरीन ।

उक्त आरोहणको व्यवस्थापन हिमालयन गाइड्सले गरेको हो । राजकुमारसहितको आरोही टोलीमा छ आरोही सदस्य थिए । यसमा केही अमेरिकी र क्यानेडियन आरोही पनि सहभागी थिए ।

यसअघि बहराइनका राजकुमार नासिर बिन हामिद अल खलिफासहितको रोयल फोर्सको टोलीले आठ हजार १६३ मिटरको मनास्लु हिमाल चढेर कात्तिक पहिलो साता स्वदेश फर्किएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *