नि:शुल्क उपचार नगर्ने सरकारको निर्णयपछि अस्पतालको मनोमानी : धुलिखेल अस्पतालले माग्यो दुई लाखसम्म धरौटी

काठमाडौँ । सरकारले कोरोना संक्रमित बिरामीको उपचार संक्रमित आफैंले गर्नुपर्ने निर्णय गरेसंगै विभिन्न अस्पतालहरुले धमाधम शुल्क तोक्न थालेका छन् । अस्पतालहरूले संक्रमितलाई उपचार गर्नुभन्दा पहिला नै पैसा जम्मा गर्न सूचना जारी गरिरहेका छन् ।

बुधबार धुलिखेल अस्पतालले कोभिड १९ को संक्रमणको उपचारबापत लाग्ने शुल्कको विवरण सार्वजनिक गरेको छ ।अस्पतालले सूचना जारी गर्दै संक्रमित भर्ना हुनुअघि दुई लाख रूपैयाँसम्म नगद धरौटी राख्न भनेको हो ।

अस्पताल प्रशासनले जारी गरेको सूचनामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार यही कात्तिक २ गतेदेखि लागू हुनेगरी बिरामीको अवस्था, धरौटी रकम, थप शुल्कको विवरण सार्वजनिक गरेको उल्लेख छ ।

अस्पतालले जारी गरेको शुल्क विवरणमा सामान्य लक्षण भएकालाई ५० हजार, मध्य जटिल बिरामीसँग एक लाख र आईसीयूमा राख्नुपर्ने बिरामीले २ लाख रूपैयाँ धरौटी राख्नुपर्ने बताइएको छ । त्यसमा औषधि तथा रोग निदानमा प्रयोग हुने जाँच तथा औषधी र अक्सिजन प्रयोग गरेको खण्डमा थप रकम लाग्नेछ ।

सामान्य लक्षण भएकालाई दिनमा तीन हजार ५००, मध्य जटिल समस्या भएकालाई सात हजार ५०० र आईसीयूमा भर्ना गर्नुपर्ने बिरामीलाई १५ हजार शुल्क लाग्ने अस्पतालले जनाएको छ । उक्त रकमबाटै अस्पतालले खाना खुवाउनेछ ।

सरकारले कात्तिक २ गतेदेखि कोरोना संक्रमतिको निःशुल्क उपचार नगर्ने जनाएको थियो । सरकारको सोही निर्णयलाई आधार बनाएर अहिले अस्पतालहरुले मनोमानी रुपमा शुल्क तोक्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *