ओलीको छलफल प्रस्ताव प्रचण्डद्वारा अस्वीकार

Last Updated Date:

काठमाडौँ। कर्णाली प्रदेशमा देखिएको विवाद समाधानका लागि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीले संयुक्त छलफलका लागि गरेको प्रस्ताव कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्वीकार गरेका छन् ।

प्रचण्डको अनुपस्थितिमै प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशका दुवै पक्षसँग अहिले बालुवाटारमा छलफल गरिरहेका छन् ।

गत आइतबार ओली पक्षका सांसद यामलाल कँडेलको नेतृत्वमा १८ जना सांसदले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि उत्पन्न विवाद समाधानका लागि भन्दै प्रधानमन्त्री ओलीले प्रचण्डलाई छलफलका लागि बालुवाटार बोलाएका थिए ।

मन्त्रिपरिषद पुनर्गठन र नियुक्तिहरूमा ओलीले एकलौटी गरेपछि असन्तुष्ट बनेका प्रचण्ड कर्णालीको विवादमा समेत प्रधानमन्त्री ओलीको हात रहेको भन्दै थप आक्रोशित बनेको नेकपा स्रोतको भनाइ छ । प्रधानमन्त्री ओलीकै निर्देशनमा शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको प्रचण्डको बुझाइ छ । अविश्वास प्रस्ताव दर्ता भएलगत्तै प्रचण्डले बालुवाटारमा ओलीसंग छलफल गरेका थिए। उक्त छलफलमा कर्णालीका दुवै पक्षका नेताहरुलाई काठमाडौँ बोलाएर छलफल गर्न दुवै नेता सहमत भएका थिए ।

अध्यक्षद्वयले बोलाएपछि मुख्यमन्त्री शाही, सांसद कँडेल, नेकपा कर्णाली प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटी, सचिव मायाप्रसाद शर्मा, हालै प्रमुख सचेतकबाट निलम्बित गुलावजंग शाह, नेताहरु प्रकाश ज्वाला, चन्द्रबहादुर शाहीलगायतका नेताहरु काठमाडौँ आएका छन् ।

प्रचण्डले बिहीबार कँडेललगायतका नेताहरुसंग आफ्ना निवास खुमलटारमा छलफल गरेका थिए । बिहीबार नै प्रचण्ड र वरिष्ठ नेता नेपालले मुख्यमन्त्री शाही, अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसद र अन्य केही नेताहरुलाई छुट्टै भेटेका थिए ।

पार्टीले गरेका निर्णय लत्याउँदै ओलीले एकलौटी रुपमा निर्णय गर्न थालेपछि प्रचण्ड र बरिष्ठ नेता माधव नेपाल ओलीसंग असन्तुष्ट छन् । छलफलमा हुन्छ भन्ने तर व्यवहारमा ठिक उल्टो गर्ने ओलीको रवैयाले आजित बनेका प्रचण्ड ओलीसंग छलफलमै बस्न अनिच्छुक रहेको उनीनिकट एक नेताले बताए ।

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top