‘रणनैतिक साझेदारीका लागि चीन र इरानबीचको छलफल फलदायी’

Last Updated Date:

इरानका विदेशमन्त्री मोहम्मद जावेद ज़रिफले आफ्ना चिनियाँ समकक्षीसंगको वार्ता दुई देशबीचको रणनैतिक साझेदारीका लागि अत्यन्त फलदायी भएको बताएका छन्। उनले दुबै देशले अमेरिकाको एकल ध्रुवीय नीतिको बिरोध गरेको समेत बताएका थिए।

जरिफ चिनियाँ विदेशमन्त्री वाङ्ग यीको निमन्त्रणामा गत शनिबार एक उच्चस्तरीय प्रतिनिधि मण्डलका साथ् चीनको औपचारिक भ्रमणका लागि चीन पुगेका थिए।

इरानका विदेशमन्त्रीले आफ्नो आधिकारिक ट्टवीटर एकाउण्टमार्फत भनेका छन्, ‘बाओशान शहरको तेङचोङ नामक सुन्दर उपनगरमा मित्र वाङ्ग यीसंग इरान र चीनबीच रणनैतिक साझेदारीका सम्पूर्ण पक्षहरुका बारेमा निकै फलदायी कुराकानी भयो।’  उनको यस संदेशलाई इरानको सरकारी संचारमाध्यम प्रेस टिभीको अनलाइन संस्करणले समाचार बनाएको छ।

इरानी विदेशमन्त्री जरिफले चीन र इरान दुवैले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलामा अमेरिकाले आफ्नो प्रभुत्व लाद्ने कोशिस गर्दै एकल ध्रुवीय विश्व व्यवस्था निर्माण गर्न खोजेकोले त्यसको प्रतिवाद गरेको समेत बताएका थिए।

जरिफले आफू र चिनियाँ समकक्षीबीच द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन सहमत भएको पनि बताएका थिए। आपसी सम्बन्ध बिस्तार गर्न रणनैतिक साझेदारीका लागि २५ वर्षीय रोडम्याप, क्षेत्रीय आपसी सहयोग, २०१५ को न्युक्लियर सहमतिको संरक्षण तथा संवर्द्धन गर्ने र कोभिड-१९ महामारी विरुद्ध खोप बनाउन एकले अर्कोलाई आवश्यक सहयोग गर्ने जस्ता विषयमा दुवै देश सहमत भएका छन् ।

यसअघि भ्रमणको पूर्वसन्ध्यामा इरानी विदेश मन्त्रालयका प्रवक्ता साइद खातिबजादेहले जरिफको चीन भ्रमण दुई देशबीच दौत्य सम्बन्ध कायम भएको ५०औँ वर्षगाँठको अवसरमा हुन लागेको बताएका थिए।

जरिफले आफ्नो ट्टवीटर संदेशलाई अझ बिस्तार गर्दै अमेरिकी दबाबका बाबजुद पनि चीन इरानको पहिलो आर्थिक साझेदार भएको भनि प्रशंसा गर्दै तेहरान र बेइजिङले रणनैतिक साझेदारीलाई अझ बिस्तार गर्न प्रतिवद्धता जनाएको उल्लेख गरेका थिए।

चीनको इरानसंग असाध्यै राम्रो सम्बन्ध छ। सन् २०१५ मा ५+१ र इरानबीच   भएको न्युक्लियर सम्झौतामा चीन एक पार्टीको रुपमा रहेको छ। तर सन् २०१८ मा उक्त सम्झौताबाट अमेरिका एकपक्षीय रुपमा पछि हटेर इरानमाथि आर्थिक नाकाबन्दी लगाउदै आइरहेको छ।

सन् २०१६ मा चिनियाँ राष्ट्रपति सी जिनपिङको इरानको भ्रमणका बेला घोषणा गरिएको २५ वर्षीय ‘सिनो-इरानियन कम्प्रिहेन्सिभ स्ट्राटेजिक पार्टनरसिप’लाई अन्तिम रुप दिन दुवै देश प्रयत्नरत: छन्।

उक्त कम्प्रिहेन्सिभ स्ट्राटेजिक पार्टनरसिपमा सहयोगका २० वटा धाराहरु उल्लेख गरिएका छन्। यस पार्टनरसिपले राजनैतिक, मानवीय तथा सांस्कृतिक, न्यायिक, एक्जेक्युटिभ कोअपरेसन्स, सेक्युरिटी एण्ड डिफेन्स र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरुमा समान धारणा बनाउने बुदाँहरु समेटिएको तथ्य त्यतिबेलाको स्टेटमेन्टमा उल्लेख छ।

गत सेप्टेम्बर ३० का दिन इरानी राष्ट्रपति हसन रौहानीले आफ्ना चिनियाँ समकक्षी सी जिनपिङलाई एक संदेश प्रेषित गर्दै दुई देशबीचको रणनैतिक सम्बन्धको प्रशंसा गरेका थिए। संदेशमा उनले साझेदारी सम्बन्धि सहमतिलाई अन्तिम निष्कर्षमा पुर्याउन प्रयास भैरहेको र सहमति पश्चात बेइजिङ र तेहरानबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास लिएको उल्लेख गरेका थिए।

रौहानीले आफ्नो संदेशमा दुई देशबीच हुने २५ वर्षीय कम्प्रिहेन्सिभ स्ट्राटेजीक कोअपरेसन प्लान दुवै मुलुकको साझा हितमा हुने र यसले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको प्रवर्द्धन गर्ने तथा एकल ध्रुवीय विश्व व्यवस्थाको अन्त्य गर्ने कुरालाई प्राथमिकताका साथ् समेटेका छन्।

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top