‘कोरोना निन्त्रणमा सरकार असफल’

Last Updated Date:

लण्डन। पूर्वशिक्षामन्त्री डा गङ्गालाल तुलाधारले कोभिड–१९ विरुद्ध सरकारको तयारी पर्याप्त नभएको टिप्पणी गरेका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले आयोजना गरेको दोस्रो विश्व ज्ञान सम्मेलनमा बोल्दै उनले सरकार होपलेस देखिएको बताए ।

उनले भने, ‘पूर्वतयारी र न्यूनीकरणका लागि खासै काम भएन । सरकारसँग स्रोत केही पनि छैन भन्नुपर्ने भो ।”

शनिबार सम्पन्न ‘महामारी र प्राकृतिक विपद् न्यूनीकरणका लागि पूर्वतयारी र न्यूनीकरण’ सत्रमा विपद् व्यवस्थापन विज्ञ समेत रहेका तुलाधरले विपद् व्यवस्थापन तीनवटै तहका सरकारको साझा अधिकार भए पनि समन्वय हुन नसक्दा कोरोना व्यापक रुपमा फैलिएको बताए।

संविधानले कल्पना गरेको संरचनालाई बेवास्ता गरी सिसिएमसी बनाइँदा अहिले कठिन अवस्था आइलागेको उनको भनाइ छ । “विपद् र महामारी नियन्त्रणका लागि तीनवटै सरकारका भूमिकाबारे संविधान मै स्पष्ट छ ।”उनले भने ।

पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले काठमाडौँमा सघन उपचार कक्ष पाउन नसकिने अवस्था आइलागेको बताए । ‘अब काठमाडौँमा कोभिड, ननकोभिड कसैले पनि सघन उपचार कक्ष पाउनेवाला छैनन्”, उनले भने, ‘जाडो आउँदैछ, शितलहर, भोकमरीको सामना गर्नुपर्ने अवस्था छ ।”

पूर्वस्वास्थ्य सचिव डा सुधा शर्माले राजनीतिक नेतृत्वले महामारी नियन्त्रणको नेतृत्व लिँदा सफल नभएको आरोप लगाइन् । ‘लकडाउनको दुई महिना र लकडाउन पश्चातका दुई महिनामा कोभिड–१९ विरुद्ध तयारीका उल्लेखनीय काम हुन सकेन’, उनले भनिन् ।

एनआरएनएका आइसिसी उपाध्यक्ष डा बद्री केसीले एनआरएनले विपद्मा सहयोग गर्दै आएको बताए । एनआरएनएका स्वास्थ्य समिति संयोजक डा सञ्जीव सापकोटाले पूर्वतयारी विना महामारी नियन्त्रणको काम गर्न नसकिने बताए ।

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top