चीन-भारत सिमानामा खटिएका पीएलएका जवानलाई थर्मल सेल्टरको व्यवस्था

Last Updated Date:

चीनले भारतसंगको सिमानामा खटिएका जनमुक्ति सेना (पीएलए)का जवानहरुलाई सजिलै संग निर्माण हुने थर्मल सेल्टरका सामाग्री उपलब्ध गराएको छ। यस व्यवस्था बाट जनमुक्ति सेना कठोर ठण्डी मौसममा पनि सुरक्षित रहने छ।  थर्मल सेल्टरको व्यवस्था भएसंगै प्रतिकूल मौसममा पनि युद्धका लागि तयारी रहने क्षमतामा वृद्धि हुनेछ।

चीनले यस्ता थर्मल सेल्टरहरु भारतसंग सिमानामा बढ्दै गैरहेको तनावको स्थितिका बेला व्यवस्था गर्न लागेको हो। . विज्ञहरुका अनुसार अब चिनियाँ जनसेनाका जवानहरुलाई जस्तोसुकै कठोर सर्दीको अवस्थामा पनि लडाईको लागि तयार रहने उत्साह जाग्ने छ।

चिनियाँ जनमुक्ति सेनाको आर्मी इञ्जिनियरिङ्ग विश्वविद्यालयले तयार पारेको यस प्रकारका सजिलै जडान गर्न मिल्ने थर्मल सेल्टरहरुमा सयनकक्ष, क्यान्टिन, वाशिंग रुम, पाइखाना, वेर हाउस, बिजुली र सेल्टर गरम गर्ने साधनहरुको प्रचुर व्यवस्था गरिएको छ। यस्तो व्यवस्थापनले ५ हजार ५०० मिटर सम्मको उचाइमा र माइनस ५५ डिग्री सेल्सियस सम्मको तापक्रममा राम्रो काम गर्ने बताइएको छ।

तिब्बतको पठार तथा उच्च पर्वतीय क्षेत्रहरुमा थर्मल इन्सुलेटेड घरहरु बितेको दुई वर्ष देखिनै प्रयोगमा थिए। पीएलएले डिपार्टमेन्ट अफ सेन्ट्रल मिलिटरी कमिसनको हवाला दिँदै अहिलेबाट सिमानामा खटिएका जवानहरुका लागि समेत यस्ता आवासीय गृहहरु उपलब्ध गराइएको जनाएको छ।

बेइजिङ स्थित त्सिन्घुआ युनिभर्सिटीका नेसनल स्ट्राटेजी इन्स्टिच्युट, रिसर्च डिपार्ट्मेण्टका डाइरेक्टर कियन फेङले चीन-भारत सीमा विवाद लम्बिने र तनाव तुरुन्तै अन्त्य हुने संकेत नदेखिएपछि सेनाका लागि लजिष्टिक सपोर्ट र उत्साहमा वृद्धि गर्नु जरुरी देखिएको हो। यो कुरा फेङले गत बुधवार ग्लोबल टाइम्सलाई बताएका थिए।

यस्ता सेल्टरहरु उपलब्ध गराउने घोषणाले पीएलएका जवानहरुको उत्साहमा भयङ्कर वृद्धि भएको र सिमानामा देखिएको समस्याप्रतिको उनीहरुको धारणा थप मजबुत भएको फेङको भनाइ थियो।

‘यस्ता सुविधायुक्त थर्मल सेल्टरको डिप्लोयमेन्टले लामो समयसम्म तनाव रहिरहे पनि त्यससंग जुध्ने तयारी चीनको तर्फबाट भएको दर्शाउँछ’, सोङ जोङपिङ नाम गरेका अर्का मिलिटरी एक्स्पर्टले ग्लोबल टाइम्सलाई बताएका छन्।

यो इक्विपमेन्ट प्रयोग गर्न अत्यन्त सजिलो हुने र यसलाई जडान गर्न पनि फौजको संख्याको आधारमा सहजै गर्न सकिने बताइन्छ। यस्ता सेल्टरहरुको डिप्लोय्मेण्टले सेनाका जवानहरुको कामकारबाही कुनैपनि समय सम्पन्न गर्न सजिलो हुने र बिशेष गरि लामो दूरीसम्म इन्धन ओसारी रहनु पर्ने झन्झटबाट मुक्ति मिल्ने पीएलए डेलीले जनाएको छ।

पानी र बिजुली बिना पनि यस्ता सेल्टरहरु स्थापना गर्न सकिने र आवश्यकता अनुसार यसको स्पेस पनि घटबढ गर्न मिल्ने छ। ९० प्रतिशत भन्दा बढी सामाग्री पुन:प्रयोगमा ल्याउन मिल्ने प्रकारको भएको एक रिपोर्टमा जनाइएको छ।

सेल्टरहरुमा सघन फोटोभोल्टाइक माइक्रोग्रिडले आवश्यक उर्जा सजिलै प्राप्त गर्ने, बाहिर माइनस ४० डिग्री सेल्सियस तापक्रम भएता पनि घर भित्र १५ डिग्री भन्दा माथि तापक्रम कायम गर्न सकिने र लामो समयसम्म वर्षा या हिमपात भए पनि डिजेल हिटरलाई इमर्जेन्सीको लागि प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

सिमानामा प्याट्रोल गर्ने पीएलएका जवानहरुका लागि नयाँ हाइ-टेक कपडाको पनि व्यवस्था गरिएको छ। जाडोबाट बचाउने टोपी, गरम हल्का कपडा र कोटहरु उपलब्ध गराइएको छ। यस्ता हल्का तर शरीरलाई गरम राख्ने कपडाले सेनालाई जुनसुकै काम गर्न सजिलो हुने बताइएको छ।

लद्दाखमा ठूलो स्केलको सैन्य कारवाही गर्नका लागि मुख्य बाधक भनेको प्रतिकूल मौसम र भिरालो जमिन नै हो।  यसका लागि सजिला र छिटो, छरितो प्रकारको लजिष्टिक सपोर्ट र मेडिकल सप्लाई आवश्यक हुन्छ। यद्यपि द्विपक्षीय वार्ता भैरहेको भएतापनि सिमानामा तनाव भने रहिरहने फेङको अनुमान छ।

(श्रोत :ग्लोवल टाइम्स)

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top