कोरोना अपडेट : संक्रमितको सङ्ख्या एक लाख नाघ्यो, ६०० को मृत्यु

काठमाडौँ। कोरोना संक्रमण तिब्र रुपमा बढिरहेका बेला पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या एक लाख नाघेको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कूल सङ्क्रमितको सङ्ख्या एक लाख ६७६ पुगेको जानकारी दिए ।

उनका अनुसार हाल देशभर २७ हजार ५३ जना सक्रिय सङ्क्रमित छन् । जसमध्ये ११ हजार १७६ जना संस्थागत आइसोलेशनमा छन् भने १५ हजार ८७७ जना होम आइसोलेशनमा रहेका छन् । पछिल्लो २४ घण्टामा १३ हजार २७९ जनाको पिसिआर परीक्षण गरिएको थियो । योसहित नेपालमा हालसम्म ११ लाख ४५ हजार २३७ जनाको पिसिआर परीक्षण गरिएको छ ।

हाल देशभर चार हजार ३०७ जना क्वारेन्टिनमा रहेका छन् । पछिल्लो २४ घण्टामा देशभर एक हजार ६८० सङ्क्रमित निको भएर घर फर्किएका छन् । योसँगै देशभर ७३ हजार २३ सङ्क्रमित निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १३ हजार २७९ जनाको पिसिआर परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए ।

उपत्यकामा थपिए एक हजार ४०९

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्र एक हजार ४०९ कोरोना सङ्क्रमित भेटिएका छन् । प्रवक्ता गौतमका अनुसार काठमाडौँमा एक हजार ११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ सङ्क्रमित थपिएका छन् । योसँगै काठमाडौँ उपत्यकामा कोराना सङ्क्रमितको सङ्ख्या ३३ हजार ७७१ पुगेको छ ।

सङ्क्रमितको सङ्ख्या काठमाडौँमा ३० हजार ४९७, ललितपुरमा चार हजार १७४ तथा भक्तपुरमा तीन हजार ४९ पुगेको छ ।

मृत्यु हुनेको संख्या ६०० पुग्यो

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६०० पुगेको छ । प्रवक्ता डा गौतमका अनुसार २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ पुरुष र एक महिला छन् । झापामा २९ र ५२ वर्षीय पुरुष, सुनसरीमा ४६, ५२ र ६८ वर्षीय पुरुष, काठमाडौँमा ८७ वर्षीया महिला र ७१ वर्षीय पुरुष, ललितपुरमा ८४ वर्षीय पुरुष तथा रुपन्देहीमा ४७ र ८४ वर्षीय पुरुषको कोरोनाबाट ज्यान गएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *