पीएलएका सामु ताइवानी सेना शुन्य बराबर : निवृत ताइवानी जनरल

Last Updated Date:

एक ताइवानी सैनिक जनरलले ताइवानी सेना चिनियाँ जनमुक्ति सेना (पिएलए) सामु लगभग अस्तित्वविहीन रहेको खुलासा गरेका छन् । निवृत्त सैनिक जनरल चेन टिङ-चुङले पीएलएको तुलनामा ताइवानी सेनाको लड्ने क्षमता शुन्य बराबर रहेको र पीएलएको आगाडि टिक्ने कुनै सम्भावना नरहेको बताएका हुन् ।

जनरल चेनले अघिल्लो हप्ताको शुरुमा यस तथ्यको खुलासा गरेको समाचार ताइवानको सञ्चारमाध्यम ताइवान न्युजले गत अक्टोबर २ तारिखका दिन प्राथमिकताका साथ प्रकाशमा ल्याएको थियो ।

गत सेप्टेम्बर २९ का दिन ताइवानको मिलिटरी एकेडेमी स्थापना को ७० औं स्थापना दिवशका दिन जनरल चेनले आफू चाइनिज भएकोमा गर्व भएको पनि बताएका थिए । सो अवसरमा उनले ताइवानकी प्रमुख कार्यकारी प्रमुख त्सी इंग-वेन ‘अहंकारी र मुर्ख’ महिला भएको, ताइवानमा थुप्रै विसंगतिले भारिएकाहरुको जमात अस्तित्वमा रहेको र तिनीहरुले अमेरिका र जापानले निर्दिष्ट गरेका एजेन्डा बोकेर हिँडेको बताएका थिए ।

जनरल चेनले ताइवानी सेनाको लड्ने क्षमता जिरो बराबर भएकोले पीएलएको आक्रमणलाई झेल्न नसक्ने दावी गरेका थिए । उनले ताइवानको यो दयालाग्दो ‘कम्ब्याटिङ्ग क्षमता’ का लागि त्सीका पूर्वाधिकारी
चेन सुइ-बियनको नीतिमाथि दोष थोपरेका थिए । चेन सुइ-बियनको कार्यकालमा ताइवानमा अनिवार्य सैनिक सेवाको अबधि छोट्याइएको थियो ।

जनरल चेनको यस्तो भनाइले ताइवानमा भने निक्कै हलचल मच्चिएको छ । उनको भनाइको बिरोध गर्नेहरुले उनको पेन्सन रोक्नुपर्ने माग गरेका छन् । लिबर्टी टाइम्स भन्ने अर्को सञ्चारमाध्यमले जनरल चेनले चिनियाँ मुख्य भूमिमा ताइवानी बच्चाहरुलाई पढाउने स्कुल संचालनको लागि ताइवान सरकारबाट वार्षिक २.०७ मिलियन अमेरिकी डलर अनुदान प्राप्त गर्दै आएको समेत आरोप लगाइएको छ ।

जनरल चेनको टिप्पणीको प्रतिवाद ताइवानको सत्ताधारी डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टीकी प्रवक्ता येन जो-फेङले गत सेप्टेम्बर ३० का दिन गरेकी थिइन् । प्रवक्ता येनले निवृत्त जनरल चेनले चीन सामु त्यसरी कमजोरी प्रदर्शन नगर्नु पर्ने भन्दै जनरलको भनाइले ताइवानको प्रतिरक्षा गर्ने विषयसंग बिबादास्पद भएको र ताइवानको सैन्य इमेजलाई नै धक्का पुगेको बताएको समाचार याहु न्युजले दिएको छ ।

ताइवानको मुख्य भूमि सम्बन्धि परिषदले गत अक्टोबर १ तारिखका दिन जनरल चेनको भनाइप्रति खेद प्रकट गरेको थियो । परिषदले जनरल चेनलाई ताइवानमा अलोकप्रिय बनाएको टिप्पणी समेत गरेको छ । तर सरकारले उनको यस्तो भनाइका बाबजुद पनि उनलाई चिनियाँ मुख्य भूमिमा संचालित उनको स्कुललाई दिदै आएको अनुदान नरोक्ने परिषदको बक्तब्यमा जनाइएको छ । किनभने सो स्कुलले ताइवानी बच्चाहरुलाई सिक्ने बराबरी अवसर जुटाएको परिषदको दावी छ ।

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top