पर्यटन प्रवर्द्धन र पर्यावरण संरक्षणका लागि साइकल यात्रा 

झापा । पूर्वी नेपालको पर्यटन क्षेत्रको विकास, व्यक्तिगत स्वास्थ्य तथा पर्यावरण संरक्षणमा सहयोग पुर्याउने उद्धेश्यले ताप्लेजुङको सुकेटारबाट साइकल यात्रा शुरु भएको छ ।

तेह्र जना साइकल यात्री सहभागी उक्त यात्रा बिर्तामोडमा आएर टुङ्गिने आयोजकले बताएको छ । यात्राका संयोजक योगेन्द्र थापाका अनुसार यात्रा शुरु भएको पहिलो रात पाँचथर, दोस्रो रात इलाममा बास बसेर झापा पुग्ने योजना रहेको छ । विपत्ति आइपरेन भने १९ गतेसम्म झापा पुग्ने योजना रहेको उनले जानकारी गराए ।

पहाडबाट नै यात्रा शुरु गर्नेबारे स्पष्ट पार्दै संयोजक थापाले पहाडहरु पनि साइकल यात्राका लागि सहज भइसकेका छन् भन्ने सन्देश दिनु पनि रहेको बताए ।

यात्राका लागि सहभागीहरु साइकलसहित आइतबार नै सुकेटार पुगेका थिए । कोरोना कहरलाई मध्यनजर गर्दै यात्रा शुरु गर्नुभन्दा अघि यात्रीहरुले सुकेटारको डाँडामा आआफ्नो टेन्ट टाँगी बासको व्यवस्था गरेका थिए ।

यात्रा अवधिभर बासको व्यवस्था भने उनीहरुको टेन्टमा नै हुनेछ ।साइकल यात्रा नेपाल लिङ्स प्याडलको आयोजना तथा सिटी सेन्टर बिर्तामोडमा अवस्थित जाइन्ट साइकलको आधिकारिक बिक्रेता हिमालय माउण्ट वाइक्सको संयोजनमा भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *